सुर्खेतमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, ठक्कर दिने गाडी फरार
काँक्रेविहार : गाडीको ठक्करबाट गम्भीर घाइते भएका दैलेखका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा दैलेखको डुङ्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढा रहेका छन्। शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका-१ स्थित टेम्पो पार्कको सडकमा उनलाई अज्ञात गाडीले ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार मदिरा सेवन गरी सडकमा सुतिरहेका बुढालाई गाडीले ठक्कर दिएको थियो।
गम्भीर घाइते अवस्थामा उद्धार गरी प्रदेश अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि ठक्कर दिने गाडी फरार रहेको र त्यसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
पुष १२, २०८२ शनिबार ११:४४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।