रौतहटको डिस्टिलरीमा शक्तिशाली विस्फोट : एक जनाको मृत्यु, पाँच जना घाइते
रौतहट : रौतहटको कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (पानी तातो गर्ने यन्त्र) विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा अन्य पाँच जना कामदार घाइते भएका छन्।
विस्फोटका कारण घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ। मृतक र घाइतेहरूको पहिचान हुन बाँकी छ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार विष्फोटको खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा अनुसन्धान सुरु गरेको छ।
विस्फोट निकै शक्तिशाली भएकाले उद्योग परिसरमा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ। ठूलो आवाजसहित भएको विस्फोटका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्।
थप जोखिम हुन नदिन सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
पुष १२, २०८२ शनिबार ११:२३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।