६० पुगे सलमान : १० लाख कमाउने अनि रेखासँग बिहे गर्ने थियो जीवनको लक्ष्य, अहिले छन् २९ सय करोडको मालिक
एजेन्सी : बलिउडका ‘दबंग’ अभिनेता सलमान खानको आज जन्मदिन हो। पर्दामा ‘भाइजान’ को दमदार उपस्थिति, हातमा सधैँ देखिने सिल्भर ब्रेसलेट र उनको ‘स्वैग’ ले करोडौं फ्यानहरूको मन जितेको छ।
फिल्मी दुनियाँमा कतिपयले उनलाई सेटमा ढिलो आउने अभिनेता भने पनि अभिनेता गोविन्दा भन्छन्, ‘जब कोही समस्यामा पर्छ, तब सबैभन्दा पहिले सलमान नै हाजिर हुन्छन्।’ आज सलमान खानको जन्मदिनको अवसरमा उनको जीवनका संघर्ष, रोचक किस्सा र सफलताको कथालाई यहाँ विस्तारमा चर्चा गरिएको छ।
इन्दोरको गल्ली, काँचो आँप र कुवाको पौडी
सलमान खानका पिता सलिम खान इन्दोरका हुन्। ८० को दशकमा स्कुल बिदा हुँदा सलमानको समय इन्दोरमै बित्थ्यो। उनले साइकल र मोटरसाइकल चलाउन इन्दोरकै सडकमा सिके।
काँचो आँप नुनसँग खानु र जामुनको स्वाद लिनु उनको बाल्यकालको प्रिय सौख थियो। अर्कातिर पौडीको किस्सा भने झनै रमाइलो छ।
‘बिइङ सलमान’ पुस्तकमा उल्लेख भएअनुसार, सानो छँदा सलमान पानीसँग डराउँथे। उनको यो डर भगाउन एकदिन उनकी ठूली आमाले उनलाई डोरीले बाँधेर सिधै इनारमा फ्याँकिदिनुभयो। त्यो घटनापछि नै सलमानले पौडी खेल्न सिकेका थिए।
कुनै समय सलमान अभिनेत्री रेखाका ठूला फ्यान थिए। यो कुराको खुलासा स्वयं रेखाले ‘बिग बोस’ को मञ्चमा गरेकी थिइन्। बिहानीपख रेखा मर्निङ वाकमा निस्कँदा ६-७ वर्षका सलमान साइकलमा उनको पछि-पछि जान्थे। रेखाका अनुसार, सलमानले घरमा गएर ‘म ठूलो भएर यसैसँग बिहे गर्छु’ समेत भनेका थिए।
सलमानले पछि लाज मान्दै भनेका थिए, ‘सायद त्यही भएर मेरो अहिलेसम्म बिहे भएन।’
१०० रुपैयाँ घुस दिएर लुकिछिपी जिम
बलिउडमा ‘सिक्स प्याक एब्स’ र बडी बिल्डिङको ट्रेन्ड भित्र्याउने जस सलमानलाई जान्छ। तर, सुरुमा परिवारले उनलाई हिरो बन्ने कुरामा पत्याएको थिएन। त्यसैले उनी घरमा थाहा नदिई लुकेर जिम जान्थे। यदि कुनै चिनजानको मान्छेले जिममा देखिहाल्यो भने, घरमा कुरा नलगाइदिनु भन्दै १०० रुपैयाँ दिएर फकाउँथे।
आज एउटै फिल्मको १०० करोडभन्दा बढी लिने र करिब २९०० करोडको सम्पत्तिका मालिक सलमानको करिअर निकै सामान्य तरिकाले सुरु भएको थियो। बलिउडमा आउनुअघि उनले मुम्बईको ताज होटलमा ब्याकग्राउन्ड डान्सरका रूपमा काम गरेका थिए, जसबापत उनले मात्र ७५ रुपैयाँ पारिश्रमिक पाएका थिए।
पछि सफ्ट ड्रिंक्सको विज्ञापनबाट ७५० हुँदै १५०० रुपैयाँसम्म कमाउन थाले। उनको पहिलो सुपरहिट फिल्म ‘मैने प्यार किया’ का लागि सुरुमा ३१ हजार रुपैयाँ तोकिएको थियो, जुन पछि बढाएर ७५ हजार पुर्याइयो।
आफ्नो आर्थिक महत्वाकांक्षाबारे कुरा गर्दै सलमानले एक अन्तर्वार्तामा भनेका थिए, ‘म निकै भाग्यमानी हुँ। मेरो जीवनको लक्ष्य मात्र १० लाख रुपैयाँ कमाउनु थियो, जुन मैले मेरो दोस्रो फिल्मबाटै पूरा गरेँ।’
जब निर्देशकले झ्यालबाट देखेरै हिरो छाने
सलमानको पहिलो फिल्म ‘बीवी हो तो ऐसी’ का निर्देशक जे.के. बिहारीका अनुसार सलमान कुनै ‘स्टार किड’ को धाक लगाएर होइन, एक सामान्य संघर्षरत युवकका रूपमा काम माग्न आएका थिए।
बिहारीले आफ्नो अफिसको झ्यालबाट सडक पार गर्दै गरेको एउटा दुब्लो-पातलो तर चम्किलो अनुहार भएको युवकलाई देखे। उनलाई लाग्यो- ‘मलाई चाहिएको केटो यही हो।’
अडिसन नै नलिई उनलाई फिल्मका लागि छनोट गरियो। सलमानले आफू चर्चित लेखक सलिम खानको छोरा भएको कुरा लुकाएका थिए, जसले निर्देशकलाई थप प्रभावित बनाएको थियो।
‘बीवी हो तो ऐसी’ मा सानो भूमिका गरेपछि पनि सफलता सजिलो थिएन। ‘मैने प्यार किया’ को लागि सलमान ६ महिनासम्म राजश्री प्रोडक्सनको अफिस धाए।
रमाइलो कुरा त के छ भने, उनी आफैँ रिजेक्ट हुँदा पनि आफ्ना साथीहरूलाई ‘यसलाई ट्राई गर्नुस्’ भन्दै सिफारिस गर्थे। उनको यही सरलता र इमानदारिता देखेर सुरज बडजात्याले उनलाई ‘प्रेम’ को भूमिकाका लागि फाइनल गरेका थिए।
कुनै समय शाहरुख खानसँग बोलचाल बन्द हुँदा पनि सलमानले कहिल्यै शाहरुखको कुरा काट्ने वा सुन्ने गरेनन्। कसैले शाहरुखको कुरा काट्न खोजे उनी ‘चुप लाग, बाहिर जाउ’ भन्दै हप्काउँथे।
आज पनि सलमान खान आफ्नो स्टारडम, मानवीय सेवा र अनौठो जीवनशैलीका कारण दर्शकको मनमा राज गरिरहेका छन्।
पुष १२, २०८२ शनिबार ०९:५४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।