सम्बन्ध सुधारको 'कोर्स'मा सरकार : दल फकाउने र चुनाव गराउने तीव्र कसरत

सम्बन्ध सुधारको 'कोर्स'मा सरकार : दल फकाउने र चुनाव गराउने तीव्र कसरत

काठमाडौं : सरकारले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सर्वस्वीकार्य बनाउन राजनीतिक दलहरूसँगको 'सम्बन्ध सुधार' र 'सहमति'को प्रयासलाई तीव्र पारेको छ। सरकारद्वारा गठित 'राजनीतिक संवाद समिति'ले दलका कार्यालयहरूको निरीक्षण र दलका प्रतिनिधिहरूसँगको छलफलपछि शुक्रबार शीर्ष नेताहरूसँग छलफल गरेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेतृत्वसँग राष्ट्रपति भवन शीतल निवासमा छलफल गरे लगत्तै संवाद समितिले पुनः नेताहरूको निवासमै पुगेर दोस्रो चरणको संवाद गरेको छ। निर्धारित प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारले प्रमुख राजनीतिक दलहरूलाई विश्वासमा लिन र समयमै सम्पन्न गर्ने उद्देश्यसहित राजनीतिक दलहरूसँगको संवादलाई जोड दिइरहेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्धारित मितिमै प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरूसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइएको हो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा शुक्रबार भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीले स्वयंले पनि राजनीतिक भेटवार्तालाई प्रत्यक्ष र परोक्ष रूपमा अघि बढाइरहेको जानकारी दिए। 

संयोजक प्रचण्डले निर्वाचनको विकल्प नभएको दोहोर्याउँदै तोकिएको मितिमै निर्वाचन हुनुपर्छ भन्नेमा जोड दिएको उनले जानकारी दिए।  खरेलले भने, 'सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भयो। त्यसक्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषकाबीच वार्ता भएको छ।'

वर्तमान सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको जनाउँदै उनले सरकारको महत्त्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे। सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने बताउँदै खरेलले वार्ता र छलफललाई लगातार अघि बढाइरहेको स्पष्ट पारे।

उनले निर्वाचन आयोग, सुरक्षा निकाय र अरू सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भएको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गरे। खरेलले भने, 'प्रमुख तीन दलका शीर्ष नेताहरूले आफूसँगको भेटमा आफूहरू चुनाव विरोधी होइनौं, चुनाव हुनुपर्छ, चुनाव लोकतन्त्रको पर्याय हो। ताजा जनादेश लिएर जनताबाट अनुमोदित हुने विषय राम्रो र उपयुक्त बाटो हो भनी स्पष्ट धारणा राख्नुभएको छ।'

नेपाली कांग्रेसको तर्फबाट चुनावको विकल्प छैन, प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको मुद्दा होइन भनी सभापति शेरबहादुर देउवाले स्पष्टसँग राखेको जनाउँदै उनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पनि निर्वाचनको विकल्प नरहेकाले अबको यात्रा भनेकै चुनाव हो भनी स्पष्ट गरेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जानुपर्छ तर त्यसका लागि सुरक्षाको वातावरण बनोस् भनी चासो व्यक्त गरेको खरेललेको भनाइ थियो। दलहरूबाट व्यक्त भावनाअनुरूप सरकारले चुनावको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमन्त्री खरेलले भने, 'शीर्ष नेताहरूसँगको भेटबाट आशावादी मात्र होइन, फागुन २१ गते चुनाव हुन्छ। सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन्।'

पुष ११, २०८२ शुक्रबार १९:२७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।