दुई दिन सुटिङ गरेर बाहिरिएकी थिइन् बिपना ! ‘जेरी अन टप’को त्यो रहस्य

दुई दिन सुटिङ गरेर बाहिरिएकी थिइन् बिपना ! ‘जेरी अन टप’को त्यो रहस्य

काठमाडौं : अभिनेत्री बिपना थापा फिल्म ‘आ बाट आमा’मा अनुबन्ध हुनुअघि अर्को एउटा फिल्म ‘जेरी अन टप’मा जोडिएकी थिइन्। ललितपुरको बंगलामुखी मन्दिरमा भएको फिल्मको शुभ-मुहूर्त कार्यक्रममा उनी निकै उत्साहका साथ सहभागी भएकी थिइन्। 

फिल्मका लागि भारतबाट आएर दुई दिन छायांकन समेत गरेकी बिपना जब फिल्म प्रदर्शनमा आयो, उनी पर्दामा कहीँ पनि देखिइनन्। अनमोल केसीको आमा र भुवन केसीको श्रीमतीको भूमिकामा रहने चर्चा भए पनि अन्ततः उनी फिल्ममा अटाउन सकिनन्।

दुई दिन छायांकन गरेपछि बिपनालाई किन फिल्मबाट हटाइयो ? यो प्रश्नको जवाफ न कसैले लेखे, न कसैले खोजे। तर, हालै एक अन्तर्वार्तामा उनले फिल्मबाट बाहिरिनुको रहस्य खोलेकी छन्।

‘हामीले कुरा गरेका थियौं। दिदी हामीले ५-६ दिनमा सुटिङ सकाउँछौं, गरौं भनेर उहाँहरूले भन्नुभएको थियो,’ बिपनाले भनिन्, ‘मैले हुन्छ, बाबुको टेन कक्षाको फाइनल परीक्षा आइरहेको छ। उसैको लागि यतिको वर्ष फिल्ममा काम नगरेको हो भनेपछि उहाँहरूले हुन्छ सकाउँछौं भन्नुभयो। अनि सुटिङ पनि गरे मैले दुई दिन। आए काम गरे राम्रैसँग।’

उनका अनुसार प्राविधिक समस्याका कारण पहिले खिचिएका दृश्यहरू पुनः छायांकन (रि-सुट) गर्नुपर्ने स्थिति आयो। छायांकनमा धेरै समय लाग्ने भएपछि आफू सहमतिमा बाहिरिएको उनले बताइन्। 

'त्यो सुटिङ चल्दा उहाँहरूको केही टेक्निकल समस्याले गर्दा फेरि सबै रि-सुट गर्नुपर्ने भयो। रि-सुट गर्दा मेरो पनि गर्नुपर्ने भयो। रि-सुट नगरेको भए म हुन्थेँ। त्यो मेरो मजबुरी हो, काम गरेपछि मैले पुरा गर्नै पर्ने हुन्छ,' उनले थपिन्, 'मैले धोका दिने, उहाँहरूले दिने कुरै भएन। त्यत्रो पार्टीको सिन गरेको थियो, धेरै खर्च भएको थियो। म आफैले प्रस्ताव राखे, रि-सुट नै गर्ने भए अरू कोही राख्दा हुन्छ कि भन्ने कुरा गरेपछि उहाँहरूले हुन्छ दिज्यू, अर्को पटक गरौँला भन्नुभयो। मलाई निकालेको भए, निकाल्यो भन्थेँ होला, कि उहाँहरूले भन्नुहुन्थ्यो होला। त्यस्तो होइन।’

डेढ दशकअघि नेपाली सिने जगतकी चर्चित अभिनेत्री बिपनालाई दर्शकले अहिले पनि उत्तिकै माया गरिरहेका छन्। ‘तँ त सारै बिग्रिस नि बद्री’ र ‘मितिनी’देखि पछिल्लो समयको ‘ह्रस्वदीर्घ’सम्म आइपुग्दा उनको अभिनयको छाप मेटिएको छैन।

अहिले उनी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को प्रचारप्रसारका लागि नेपालमा छिन्। आफ्नो पुनरागमन फिल्मलाई सफल बनाउन उनी मेला-महोत्सवदेखि सञ्चारमाध्यमका अन्तर्वार्ताहरूमा व्यस्त देखिएकी छन्।

पुष ११, २०८२ शुक्रबार १७:५३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।