चन्द्रशमशेरको ‘थिएटर’देखि माओवादी संसद् प्रवेशको साक्षी, पुनर्जीवन पाउँदै ‘ग्यालरी बैठक’ (फोटो कथा)

चन्द्रशमशेरको ‘थिएटर’देखि माओवादी संसद् प्रवेशको साक्षी, पुनर्जीवन पाउँदै ‘ग्यालरी बैठक’ (फोटो कथा)

काठमाडौं : नेपालको राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण अध्याय बोकेको सिंहदरबारस्थित ‘ग्यालरी बैठक’ भवनले अब नयाँ जीवन पाउने भएको छ।

११७ वर्ष पुरानो यो ऐतिहासिक भवन २०७२ सालको विनाशकारी भूकम्पले क्षतविक्षत भएको थियो। लामो समयसम्म प्लास्टिक ओढेर जीर्ण अवस्थामा रहेको यो भवनलाई अहिले सबलीकरण (रेट्रोफिटिङ) गरी जोगाउने प्रयास भइरहेको छ।

वि.सं. १९६५ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले निजी थिएटरको रूपमा निर्माण गरेको यो भवन पछि नेपालको संसदीय इतिहासको साक्षी बन्न पुग्यो।

राणाकालीन वास्तुकलाको अनुपम नमुना मानिने यस भवनको पुनर्निर्माण, यससँग जोडिएको इतिहास र भविष्यको योजनालाई हामीले यहाँ तस्बिरमा समेटेका छौँ।

सिंहदरबार परिसरभित्र रहेको ऐतिहासिक ग्यालरी बैठक भवन। वि.सं. १९६५ मा निर्माण भएको यो भवनले नेपालको राणा शासनदेखि प्रजातन्त्र, पञ्चायत र गणतन्त्रसम्मका महत्त्वपूर्ण राजनीतिक परिवर्तनहरू नजिकबाट नियालेको छ।

२०७२ सालको भूकम्पले भवनलाई नराम्ररी क्षति पुर्यायो। लामो समयको बेवास्तापछि सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले यसको सबलीकरण थालेको छ। करिब ३९ करोड रुपैयाँ लागतमा प्रेरा निर्माण सेवा प्रालिले पुनर्निर्माणको जिम्मा पाएको छ।

भवन सबलीकरणका लागि २०८१ जेठ ६ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८२ मंसिर ६ गतेभित्र काम सम्पन्न गर्नुपर्ने उल्लेख छ। यद्यपि, निर्माण कार्यको गति हेर्दा र ऐतिहासिक महत्त्वको संरचना भएकाले तोकिएको समयमै काम सकिनेमा चुनौती देखिएको छ।

भत्काउने कि जोगाउने बहस: भूकम्पपछि यो भवनको भविष्य अन्योलमा थियो। २०७६ पुस २९ गते संसदको विकास तथा प्रविधि समितिले यसलाई भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिएको थियो। तर, सम्पदाविद् र सरोकारवालाको दबाबपछि २०७९ चैत ९ गते राष्ट्रिय सभाको समितिले यसलाई नभत्काई संरक्षण गर्न निर्देशन दिएको थियो।

प्रधानमन्त्री चन्द्रशमशेरले यसलाई आफ्नो निजी ‘थिएटर’ (नाचघर) का रूपमा बनाएका थिए। सुरुवाती दिनमा यो भवन विदेशी पाहुनालाई रात्रिभोज दिन, नाचगान हेर्न र भव्य भोजभतेर आयोजना गर्न प्रयोग गरिन्थ्यो।

यही भवनको हलबाट २००४ सालमा तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले नेपालको पहिलो संविधान मानिने ‘नेपाल सरकार: वैधानिक कानुन’ घोषणा गरेका थिए। यो भवन कानुनी इतिहासको पनि एक स्तम्भ हो।

२००७ सालको क्रान्तिपछि यो भवन सल्लाहकार सभाको बैठक स्थल बन्यो। २०१५ सालको आम चुनावपछि बीपी कोइरालाको पालामा २०१६ असार १६ गते पहिलो संसद् बैठक यही ग्यालरी बैठकमा बसेको थियो।

राजा महेन्द्रले सुरू गरेको पञ्चायती व्यवस्थाअन्तर्गत २०२० वैशाख १ गते राष्ट्रिय पञ्चायतको पहिलो अधिवेशन यहीँ बस्यो। २०४६ सालको जनआन्दोलनपछि पुनर्स्थापित बहुदलीय व्यवस्थाको संसद् बैठकहरू पनि २०४८ सालदेखि निरन्तर यही भवनमा सञ्चालन भए।

१० वर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको माओवादी पहिलो पटक यही भवनमा संसदीय अभ्यासमा सामेल भएको थियो। २०६३ वैशाख १५ गते पुनर्स्थापित संसद्को ऐतिहासिक बैठक र अन्तरिम संसद्को बैठकको साक्षी पनि यही भवन हो।

२०६४ सालको संविधानसभा निर्वाचनपछि सभासद्हरूको सङ्ख्या ६०१ पुगेपछि यो भवन साँघुरो भयो। त्यसपछि संसद् बैठक बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सारियो। त्यसयता यो भवन सुनसान प्रायः थियो।

युरोपेली शैलीको प्रभाव देखिने यो भवनको भित्री र बाहिरी बनावट विशिष्ट छ। भित्तामा रहेका कलाकृति, सिलिङको डिजाइन र झ्यालढोकाहरूले तत्कालीन समयको भव्यता झल्काउँछन्। सबलीकरण गर्दा यी मौलिकता जोगाउन विशेष ध्यान दिइएको छ।

सरकारले यो ऐतिहासिक भवनलाई विदेशी पाहुनासँगको भेटवार्ता, राजकीय भोज (स्टेट ब्यांक्वेट) वा सेमिनार हलका रूपमा विकास गर्ने योजना बनाएको छ। सिंहदरबारभित्रै नयाँ संघीय संसद् भवन बन्दै गरेकाले यसको प्रयोग अब फेरिनेछ।

सरकारले ‘स्टेट गेस्ट हाउस’ बनाउने योजना अघि सारे पनि संसदीय समितिले भने यसलाई ‘संसदीय सङ्ग्रहालय’ बनाउन निर्देशन दिएको छ।

पुष ११, २०८२ शुक्रबार १३:५८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।