शिक्षाको आवरणमा ब्रिटिश कलेजको बदमासी : अनुमति नै नभएको कोर्षमा लाखौँ असुली, मन्त्रालयले बनायो समिति

शिक्षाको आवरणमा ब्रिटिश कलेजको बदमासी : अनुमति नै नभएको कोर्षमा लाखौँ असुली, मन्त्रालयले बनायो समिति

काठमाडौं : थापाथलीमा रहेको ब्रिटिश कलेजले हस्पिटालिटी विषयमा एक वर्षको ‘फाउन्डेसन कोर्स’ (नन-क्रेडिट)को अनुमति लिए पनि वैध कोर्स भन्दै विद्यार्थीलाई झुक्याएर रकम ठगी गरेको खुलेको छ।

नन-क्रेडिट फाउन्डेसन कोर्स भनेको स्नातक तह पढ्नुअघि विद्यार्थीलाई सम्बन्धित विषयमा आधार बनाउन पढाइने भए पनि त्यसको अंक नियमित कोर्समा जोडिँदैन। तर, कलेजले यसैलाई नियमित कोर्स भनेर झुक्याउँदै विद्यार्थीहरूबाट पैसा लिने र दुबई पढ्न पठाउने गरेको तथ्य खुलेको हो।

उसले दुबईमा पठाएका विद्यार्थीहरू एकपछि अर्को गर्दै नेपाल फर्किएर शिक्षा मन्त्रालयमा निवेदन दिएपछि मन्त्रालयले यसबारे छानबिन गर्न समिति नै गठन गरेको छ। कलेज प्रशासनले भने विज्ञप्तिमार्फत आफूहरूले मन्त्रालयबाट अनुमति लिएर अध्ययन गराइरहेको र कुनै पनि विद्यार्थीको श्रम शोषण नगरेको दाबी गरिरहेको छ।

थापाथलीमा रहेको कलेजमा भइरहेको प्रदर्शनबारे उकेराले गरेको रिपोर्टिङका क्रममा भेटिएका अभिभावक र विद्यार्थीहरूले दिएको प्रमाणका आधारमा भने कलेजले सिधै झुक्याएर रकम असुली गरेको देखिन्छ।

एक वर्षको कोर्स नेपालमा गरेपछि दुबई र बेलायतमा गएर बाँकी कोर्स पूरा गर्ने भनेर अभिभावकसँग पैसा लिएर पनि उनीहरूले विद्यार्थीलाई आफ्नो कन्सल्टेन्सीमार्फत दुबई पठाएर कामदारको रूपमा काम लगाउने गरेको देखियो।

कलेजले झुक्याएर दुबई पठाउँदा केही विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा समेत असर परेको छ। अधिकांश विद्यार्थीहरू आफ्नै पैसामा नेपाल फर्किएको खुल्यो।

कलेज प्रशासनले एक वर्ष नेपालमा पढ्ने, दुई वर्ष दुबईमा गएर पढ्ने र बाँकी कोर्स बेलायतमा पढ्नुपर्ने भनेर विद्यार्थीसँग शुल्क लिने गरेको खुल्यो।

ब्रिटिश कलेजले ठगी गरेको भन्दै विद्यार्थीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटेर निवेदन दिएपछि मन्त्रालयले छानबिन समिति समेत बनाएको छ। तर, समितिले काम सुरु गरेको छैन।

‘छानबिन समिति बनेको छ। समितिले जे निष्कर्ष निकाल्छ त्यही अनुसार कारबाही हुन्छ,’ मन्त्रालयका उच्च शिक्षा शाखा प्रमुख परशुराम तिवारीले उकेरालाई भने, ‘के भएको हो भन्ने अझै अध्ययनकै क्रममा भएकाले तत्काल केही भन्न सक्दैनौँ। कति विद्यार्थी पीडित छन् भनेर पनि हामीसँग यकिन तथ्यांक आइसकेको छैन।’

उनले ब्रिटिश कलेजलाई स्नातक कोर्स पढाउने अनुमति दिए पनि विद्यार्थीहरूलाई दुबई र बेलायत पढ्न पठाउने अनुमति भने नभएको खुलाए। तीन/चार वर्षको स्नातक पढाउन भने मन्त्रालयले कलेजलाई अनुमति दिएको देखिएको उनले जानकारी दिए।

हस्पिटालिटीका लागि मन्त्रालयले जम्मा एक वर्षको फाउन्डेसन कोर्स (नन-क्रेडिट) पढाउन मात्र अनुमति दिएको तिवारीले बताए।

‘हामीले विद्यार्थी दुबई, युके लैजानु भनेर अनुमति दिएकै होइन। कलेजले आफैँ गरेछ। विद्यार्थीहरू अलपत्र परेपछि थाहा भयो। कलेजले कन्सल्टेन्सीको काम गरेको रहेछ’, शाखा प्रमुख तिवारीले भने।

ब्रिटिश कलेजले आफ्ना विद्यार्थीहरूलाई दुबईको ‘द वुल्विच इन्स्टिच्युट’मा नेपालबाट पठाउने गरेको छ। उसले एक तह नेपालमा अध्ययन गरेपछि त्यहाँ गएर दुई तह अध्ययन गरेपछि अन्तिम वर्ष बेलायतमा पढ्नुपर्ने बताउने गरेको छ।

केही अभिभावक र विद्यार्थीहरूलाई कलेज प्रशासनले द वुल्विच इन्स्टिच्युटलाई एकेडेमिक मान्यता प्राप्त युनिभर्सिटीको रूपमा झुक्याउने गरेको देखियो। तर, यो एकेडेमिक नभएर सीपमुलक तालिम दिन मान्यता पाएको इन्स्टिच्युट रहेको पाइयो।

यो इन्स्टिच्युट दुबईको नलेज एन्ड ह्युमन डेभलपमेन्ट अथोरिटीबाट मान्यता पाएको देखियो। यस संस्थाको मुख्य विशेषता ‘पाथवे’ रहेको देखियो। अर्थात् यहाँ गरिने अध्ययनले मात्र पूर्ण एकेडेमिक मान्यता पाउन सक्दैन।

यहाँबाट प्राप्त गर्ने ‘हाइयर नेसनल डिप्लोमा’लाई विश्वविद्यालयको पहिलो र दोस्रो वर्ष सरह मानिने र यो सकेपछि अन्य अन्तर्राष्ट्रिय विश्वविद्यालयमा तेस्रो वर्षमा भर्ना भएर मात्र ब्याचलर डिग्री पूरा गर्न सकिन्छ।

तर, शैक्षिक प्रयोजनका लागि नभई काम गर्ने प्रयोजनका लागि हो भने खाडी मुलुक र अन्य देशमा समेत यहाँको भोकेसनल सर्टिफिकेटलाई रोजगारदाताहरूले सीप र दक्षताको आधारमा मान्यता दिन सक्ने देखियो।

अभिभावकदेखि विद्यार्थीसम्म तनावमा
काठमाडौंकी सरस्वती गिरीले छोरीको भविष्य बनोस् भनेर सन् २०२३ मा थापाथलीमा रहेको द ब्रिटिश कलेजमा ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्टमा भर्ना गरिदिइन्। उनले पहिलो वर्ष नै एक लाख १५ हजार रुपैयाँ तिरिन्।

विज्ञान विषय लिएर पढेकी उनकी छोरीले दोस्रो वर्षमा छात्रवृत्तिमा नाम निकालेर पढ्न सफल भइन्। त्यसपछिको वर्ष दुबईमा गएर दुई वर्ष त्यहाँको विश्वविद्यालयमा पढ्ने, इन्टर्नको रूपमा काम गर्ने र अन्तिममा बेलायत गएर पढाइ पूरा गर्ने भनेर कलेजले भनेको थियो।

‘बाहिर जाने प्रक्रिया सुरु भएपछि पैसाको निकै समस्या भयो। साढे नौ लाख रुपैयाँ तिर्न लगाइयो,’ गिरीले उकेरासँग भनिन्, ’मेरी एउटै मात्र छोरी। बाहिर पढ्न भनेर गइन्। तर उनी बस्ने ठाउँ भिडियोमा देखेर रुन मन लाग्यो! तलमाथि बेड राखिएको, पाँच वटा कोठाको एउटा किचेन। त्यहाँ भारतीय, बंगाली लगायतका सबैहरूसँग बस्नुपर्ने रहेछ।’

राखेको ठाउँबाट पढ्न जाने ठाउँ ४५ मिनेट ट्रेन चढेर जानुपर्ने, जाँदा-आउँदा खर्च हुने ४५ दिराम अभिभावकले नै तिर्नुपर्ने। त्यसमा दुबईमा विश्वविद्यालय भनेर राखिए पनि त्यो विश्वविद्यालय समेत नभएको उनले बताइन्।

‘पछि थाहा भयो, त्यो त कलेज पनि होइन रहेछ। यिनीहरूले नै बनाएको नक्कली संस्था रहेछ। पढाउने भनेर टन्न पैसा लिने अनि त्यहाँ गएपछि अलपत्र पारिदिने गरे’, उनले भनिन्।

पढ्न भनेर कलेजले साढे नौ लाख लिएको र त्यसबाहेक जाँदाको टिकट खर्च, कन्सल्टेन्सी चार्ज र त्यहाँ बस्दाको सबै खर्च विद्यार्थीलाई नै तिर्न लगाइएको उनले दाबी गरिन्। दुबईमा विद्यार्थीलाई पढाउन शिक्षक पनि नेपालबाटै पठाउने गरेको र त्यहाँ विश्वविद्यालय भनेर कन्सल्टेन्सीमा पढाउने गरेको उनले खुलाइन्।

‘जितेन्द्र रोकाया भनेको यहीँको हस्पिटालिटीको हेड सर रहेछन्। हाम्रा नानीहरूलाई विदेशमा पढाउने भनेर यहीँको सर पो जाने रहेछन्,’ उनले भनिन्, ‘विद्यार्थी र शिक्षक यहीँबाट लाने भए पढाउनको लागि त्यति टाढा अनि त्यति महँगो किन पैसा तिर्न लगाइएको?’

इन्टर्नसिप भनिए पनि विद्यार्थीहरूलाई कामदारको रूपमा व्यवहार गरेर काम पनि त्यस्तै लगाउने गरेको, स्नातकको लागि भनेर विद्यार्थी लगेर भाँडा माझ्न, भुइँ पुछ्न लगाउने गरेको देखियो। तर, विद्यार्थीलाई दिइएको कागजातमा भने डिप्लोमा अध्ययन भनेर दिने गरेको देखियो।

श्रमशोषणमा विद्यार्थी, अभिभावकलाई समेत धम्की !
उकेराले प्राप्त गरेको कागजातअनुसार त्यसमा स्पष्ट रूपमा विद्यार्थीलाई काम लगाउन नपाइने भनेर उल्लेख छ। तर , इन्टर्नसिप भनेर विद्यार्थीहरूलाई कम मूल्यमा काम लगाउने र श्रमशोषण गर्ने गरेको देखियो। उनीहरूलाई सात सयदेखि एक हजार दिराममा काममा लगाइएको पीडित विद्यार्थीहरूले उकेरालाई बताए।

गिरीकी छोरी ब्रिटिश कलेजबाट दुबई पढ्न भनेर गएको पहिलो टोली हो। उनकी छोरीका अनुसार यहाँबाट उनीहरू पाँचजना गएका थिए। चार जना अहिले पनि उतै काम गरेर बसिरहेका छन्। उनलाई भने केही महिना अघि परिवारले दुबईबाट नेपाल झिकाए।

‘अन्त पढाउन ब्रिटिश कलेजले दिएको सर्टिफिकेटले काम गरेन। पैसा पनि डुब्यो। उल्टै उनीहरूको धम्की सहनुपरेको छ,’ एक अभिभावकले भने, ‘उसको मानसिक स्वास्थ्यमै असर परेछ। बल्ल अहिले हामीसँग बोल्न थालेकी छिन्।’

अभिभावकहरूका अनुसार ब्रिटिश कलेजका एक्जिक्युटिभ डाइरेक्टर महेन्द्र कँडेलले अहिले पनि विद्यार्थी र अभिभावकहरूलाई धम्क्याइरहेका छन्।

‘हामी आमाछोरीलाई पाँच तला माथि लगेर धम्की दियो। दुबईबाट सकुशल मेरो नानीलाई फर्काउन कति संघर्ष गर्नुपर्यो,’ अभिभावकले उकेरासँग भनिन्, ‘त्यसबेला उसलाई जिउँदो फर्काउँछु जस्तो पनि लागेको थिएन। छोरी एक्लै ढोका थुनेर बस्ने, कोहीसँग कुरा नगर्ने। उसको मानसिक स्वास्थ्यदेखि भविष्यसम्म खेलवाड भयो। अब कहाँ पढ्ने, के गर्ने केही थाहा छैन।’

अरु कलेजमा पढ्न खोज्दा सर्टिफिकेट ‘फेक’ भनेर भर्ना नलिएको र अष्ट्रेलियामा पढ्न जान खोज्दा ग्याप देखाएर अस्वीकार गरेको उनले सुनाइन्।

एक पीडितका अनुसार उनीहरूलाई इन्टर्नसिप भनेर १० देखि १२ घण्टाको सरसफाइको काम लगाइएको थियो। पढाइ जम्मा हप्ताको दुई दिन मात्र हुन्थ्यो। सहनै नसकेपछि अधिकांश फर्किएर नेपाल आएका थिए।

‘कागजात सबै फर्जी हुने रहेछ। म कक्षाको टपर हुँ। कुनै सरले राम्रो पढाएन भनेर कम्प्लेन गर्दा मेरो नम्बर काटेको छ। मेरो अभिभावकलाई समेत प्रत्यक्ष टर्चर दिए’, ती विद्यार्थीले भनिन्।

दुबईमा अलपत्र परेका विद्यार्थीहरू धमाधम फर्किँदै !
गिरीकी छोरीपछि पनि त्यही विषयमा पढ्न भनेर ब्रिटिश कलेजबाट २० जना दुबई गएको खुल्यो। जसमध्ये १५ जना छात्र मङ्सिर १५ गते फर्किए। उनीहरू सबै अहिले कलेज विरुद्धको आन्दोलनमा जोडिएका छन्।

‘हामीभन्दा अगाडिकै ब्याच फसिसकेको रहेछ। हामीलाई थाहा भएन। हामी पनि फस्यौँ,’ दुबईबाट फर्किएका एक छात्रले भने, ‘हामी २० जनाको टोली गएका थियौँ। त्यसमा पाँच जना केटी छन्। उनीहरू बाहेक हामी सबै फर्कियौँ।’

उनीहरू पनि सबै आफ्नै खर्चमा नेपाल फर्किएको खुल्यो। फर्किएकाहरूलाई पढाउने बहानामा बरदुबईमा राखेर श्रम शोषण गरेका थिए।

‘कस्तो कस्तो काम गरेर आयौँ भन्न पनि अप्ठ्यारो लाग्छ। निकै गाह्रो भयो। विश्वविद्यालय नै होइन रहेछ त्यो। यिनीहरूको पढाइको केही महत्व छैन रहेछ। हाम्रो सर्टिफिकेट नै फेक रहेछ’, उनले भने।

फर्किएर आएका १५ जना भदौमा दुबई गएका थिए। तीन महिना निकै मानसिक यातना र श्रम शोषणमा परेको उनीहरूको गुनासो छ। जाने-आउने सबै गरेर प्रति विद्यार्थी कलेजले २५ लाख रुपैयाँसम्म असुलेको देखियो।

होस्टेलमा भनेर कम्पनीमा राखेको र २० दिनपछि त्यहाँबाट निकालेपछि रोडमा समेत सुत्न बाध्य भएको ती विद्यार्थीहरूले सुनाए। अलपत्र भएपछि जे काम पाइन्छ त्यही काम गरेको र केही कम्पनीले तलब समेत नदिएको उनीहरूको भनाइ छ।

‘फेक कलेजलाई पढ्न भनेर धेरै पैसा दिएर आफैँ बेचिएको जस्तै महसुस भयो,’ फर्किएर आएका एक विद्यार्थीले भने, ‘पढ्न भनेर लाने अनि अलपत्र छोड्ने रहेछन्। कमाउन सक्ने त जसोतसो कमाउने भए। नकमाउने त मर्नु न बाँच्नु हुने रहेछ। हामीले अब हाम्रो आमाबाबालाई के जवाफ दिने!’

पीडित विद्यार्थीहरू एकजुट हुँदै
कलेजले विद्यार्थीहरूलाई झुक्याएर पैसा असुल्ने र दुबईमा पठाएर श्रम शोषण गर्ने खुलेपछि अहिले त्यता जान तयार भएका नयाँ ब्याचका विद्यार्थीहरू आन्दोलनमा जोडिएका छन्।

तिनै मध्येकी एक हुन् प्रियंका नेपाल। उनी फेब्रुअरीमा दुबई जान लागेकी थिइन्। तर, त्यहाँ भइरहेको व्यवहार र ठगीबारे थाहा पाएपछि उनी रोकिइन्। अहिले उनकै नेतृत्वमा विद्यार्थीहरू आन्दोलित भएका छन्।

‘हाम्रो एचबीएम कोर्स नै नक्कली रहेछ। भर्ना प्रोसेस पनि एकदम खत्तम छ। कलेजको वेबसाइटमा राम्रो लेखेर ५० हजार रुपैयाँको स्क्यान गरेपछि भर्ना हुन्छ’, उनले भनिन्।

उनले कलेजले गरिरहेको झुट र लुटको बारेमा बोल्यो भनेर कलेजले सस्पेन्सन पत्र पनि दिएको थियो। उनले पनि कलेजले निकै धम्की दिएको बताइन्। विद्यार्थीहरूकै अगुवाइमा अहिले धेरै पीडित अभिभावक तथा विद्यार्थीहरू नै जुटिरहेका छन्।

‘पैसा डुबे पनि हाम्रा छोराछोरीहरू त्यहाँ पुग्नुभन्दा अगाडि नै थाहा भयो। त्यतिमै ढुक्क हुनुपरेको छ। अब कलेज प्रशासनलाई कारबाही र हाम्रो पैसा फिर्ता हुनुपर्यो’, आन्दोलनमा आएका एक अभिभावकले भने।

बिएचएमका लागि भने विद्यार्थीहरूलाई १५ लाख रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म कलेजले माग्ने गरेको खुल्यो।

पुष ११, २०८२ शुक्रबार ०८:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।