क्यालिफोर्नियामा भारी वर्षा र बाढीको वितण्डा : तीन जनाको मृत्यु, आपतकाल घोषणा
एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा भएको भारी वर्षा र बाढीका कारण क्रिसमसको रातिसम्म तीन जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार क्यालिफोर्नियाको ठूलो भूभागमा भारी वर्षाका कारण बाढी आउनुका साथै पहिरो गएको छ। मौसम विभागले यो आँधी र वर्षाको सिलसिला शुक्रबारसम्म जारी रहने अनुमान यसअघि नै गरेको थियो।
लस एन्जलस काउन्टीका केही स्थानमा २७ सेन्टिमिटरसम्म वर्षा भएको छ। भारी वर्षाका कारण जोखिम बढेपछि मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने सो क्षेत्रका मुख्य सडकहरू बन्द भएका छन्।
बाढी र डुबानको अवस्थासँग जुध्न आपतकालीन उद्धार टोलीले विभिन्न स्थानमा उद्धार अभियान चलाएको छ। बाढीको पानीमा फसेका गाडीहरू भित्र रहेका मानिसहरूको पनि उद्धार गरिएको छ।
स्थिति बिग्रँदै गएपछि क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले बुधबार लस एन्जलस र दक्षिणी क्यालिफोर्नियाका अन्य काउन्टीहरूमा आपतकाल (इमर्जेन्सी) घोषणा गरेका छन्।
अहिले उक्त राज्यका करिब एक लाख मानिस विद्युत सेवाबाट बञ्चित भएर बस्नुपरेको छ।
पुष ११, २०८२ शुक्रबार ०७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।