बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीको ‘एक मान्ठ एक देउता’ पहिलो, पाए दुई लाख
काठमाडौँ : बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा पहिलो भएको छ। पहिलो भएसँगै कथाकारले दुई लाख पुरस्कार पाए।
बाह्रखरी मिडियाद्वारा बिहीबार आयोजित घोषणा समारोहमा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बिचमा’ शीर्षकको कथा दोस्रो भएको छ भने इन्द्रप्रसाद गोतामे (जगतजङ)द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तेस्रो भएको छ। दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ६० हजार पुरस्कार प्राप्त गरे।
विजेताहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले पुरस्कार तथा सम्मान पत्र दिएकी थिइन्। त्यस अवसरमा उत्कृष्ट २५ कथालाई सात हजार पुरस्कारसहित सम्मान गरिएको थियो। बाह्रखरी मिडियाका अध्यक्ष तथा सम्पादक प्रतीक प्रधानले प्रतियोगितामा एक हजार १ सय ६८ कथा सहभागी भएको जानकारी दिए। उनले सातौँ शृङ्खलासम्म आउँदा थप उत्साहित बनाएको र साहित्यकारमा ऊर्जा मिलेको महसुस भएको बताए।
प्रतियोगिताको निर्णायक समितिका संयोजक अशेष मल्लले नेपाली साहित्यमा नयाँ पुस्ता आएको यो प्रतियोगिताले प्रस्ट पारेको बताए। डिस होम मिडियाका अध्यक्ष हेमराज ढकालले, अङ्ग्रेजी साहित्यका लेखक सम्राट् उपाध्यायले कथा लेखन प्रतियोगिताले साहित्यकारमा हौसला प्रदान भएकाले यस्ता कार्यक्रम भइरहनुपर्नेमा जोड दिए।
पुष १०, २०८२ बिहीबार २१:१४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।