‘द ब्ल्यू लाइट’को टिजरमा देखियो साइकोलोजिकल थ्रिलर लभ स्टोरी
काठमाडौं : साइकोलोजिकल थ्रिलर जनरामा बनेको फिल्म ‘द ब्ल्यू लाइट’को टिजरमा निर्माण पक्षले प्रेम र रोमान्सलाई केन्द्रमा राखेको छ। बिहीबार सार्वजनिक टिजरमा महेश त्रिपाठी र बेनिशा हमाल देखिएका छन्। टिजरमा यी दुवैको प्रेम, रोमान्स, आक्रामक व्यवहार र प्रतिशोध देखिन्छ।
फिल्मको टिजरले साइकोलोजिकल थ्रिल अनुभव गराउने प्रयास गरेको छ। निर्माण टिमले टिजरसँगै सिनेमा रिलिजको नयाँ मिति पनि सार्वजनिक गरेको छ। माघ १६ गते यो सिनेमा रिलिज हुनेछ। यसअघि यो चलचित्र पुस १० गते सार्वजनिक गर्ने भनिएको थियो।
बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । चलचित्रमा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रूपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्। नरेन्द्र मैनालीले गरेको छायाङ्कन रहेको चलचित्रका आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन्।
पुष १०, २०८२ बिहीबार २०:५४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।