जेनजी र दल मिलेर पेन्डुलम बनाएको भन्दै प्रधानमन्त्री कार्कीले भनिन् "अहिले छोड, भरे छोड भन्छन्"
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी र पार्टी दुवै मिलेर हैरान बनाएको बताइन्। उनले जेनजीले पनि अहिले छोड, भोली छोड भन्ने र पोलटिकल पार्टीले पनि अहिले नै छोड भन्ने गरेको भन्दै आफूहरू पेन्डुलम जस्तो भएको दुखेसो गरिन्।
"अब छोडौँ भने थुक्क मौका दिएकै हो नि, तिमीहरूको औकात पनि छाडेर जाने त रहेछ नि भन्छन्," उनले बाह्रखरी कथाको पुरस्कार वितरण कार्यक्रममा भनिन्"पेन्डुलम जस्तो बनाए। सकस गरेर, मिहिनेत गरेर काम गरिरहेका छौँ।"
उनले २०-३० जेन्जी समूह रहेको र समूहपिच्छेको माग रहेको भन्दै गुनासो गरिन्। "एउटाले यति गर भन्छ। अर्को यति गर भन्छ" भन्दै उनले केही युवामा निर्वाचन किन चाहियो भन्ने पनि आएको छ बताइन्।
"तर संसारको नियम रैछ, कानुन रैछ। वैधानिकताको प्रक्रिया हुन्छ। यही सरकार चलिरह्यो भने तानाशाही हुन्छ। खान आएका रहेछन् भन्ने हुन्छ" भन्दै उनले भनिन् "अब हाम्रैबारेमा कथा लेख्नु। गृहमन्त्रीको के हाल छ, अर्थमन्त्रीको के हाल छ, मेरो के हाल छ भनेर कथा लेख्नुस्।"
उनले अहिले मुलुक बंगलादेश नहोस् भनेर काम गरिरहेको बताउँदै उनले नेपालीहरूले दुख पाएको र परिवर्तनका लागि बिदेसिएको भन्दै फेरी मारकाट भएमा धान्न नसकिने बताइन्।
"बंगलादेश नहोस् भन्ने हो। संसदमा छानिएर आउने सांसदहरू इमान्दार हुनुपर्यो। जे शैलीमा देश चल्नुपर्थ्यो त्यो शैली ठिक भने देखिएको छैन" उनले भनिन्।
पुष १०, २०८२ बिहीबार १७:३५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।