कांग्रेस नेता सुनिल शर्मा निस्किएपछि कुपण्डोलमा रवि र बालेनबीच ‘वान टू वान’ वार्ता

कांग्रेस नेता सुनिल शर्मा निस्किएपछि कुपण्डोलमा रवि र बालेनबीच ‘वान टू वान’ वार्ता

काठमाडौं : मुलुकको राजनीति तरल बनिरहेका बेला नयाँ समीकरण र वैकल्पिक शक्ति निर्माणको गृहकार्यका लागि ललितपुरको कुपण्डोलस्थित कुमार बेन्जनकार (कुमार बेन)को निवास आज राजनीतिको ‘इपिसेन्टर’ बनेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सोही निवासमा अहिले ‘वान टू वान’ वार्ता सुरू भएको छ। प्रतिनिधिसभा विघटनपछिको निर्वाचनलाई लक्षित गर्दै दुई नेताहरूबीच भेट भएको हो।

कुपण्डोलमा आज बिहानैदेखि बालेन शाहको राजनीतिक दौडधूप चलिरहेको छ। रवि लामिछाने पुग्नुअघि बालेनले सोही स्थानमा नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी डा. सुनिल शर्मासँग गम्भीर छलफल गरेका थिए।

बालेनसँगको भेटपछि बाहिरिने क्रममा नेता शर्माले प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना र त्यसपछिको राजनीतिक परिदृश्यबारे छलफल भएको संक्षिप्त प्रतिक्रिया दिए। शर्मा बाहिरिएलगत्तै रास्वपा सभापति लामिछाने बालेनलाई भेट्न कुपण्डोल पुगेका हुन्।

रवि र बालेनबीच बन्द कोठामा एकल वार्ता चलिरहँदा बाहिर भने वैकल्पिक राजनीतिक धारका अन्य अनुहारहरूको जमघट बाक्लिएको छ। रास्वपाबाट: सभापति रविसँगै सांसदहरू असिम शाह र गणेश कार्की पनि कुपण्डोल पुगेका छन्। यद्यपि, उनीहरू मुख्य वार्तामा सहभागी छैनन्।

‘वैकल्पिक शक्ति’ को नारासहित अभियान चलाइरहेका सागर ढकाल र ‘जेन-जी’ आन्दोलनबाट उदाएका ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङ पनि छलफलका लागि सोही स्थानमा भेला भएका छन्।

स्रोतका अनुसार, आजको बैठकको मुख्य उद्देश्य सोमबारको भेटपछि सिर्जना भएको अविश्वास चिर्नु हो। सोमबार राति ६ घण्टा लामो छलफलपछि रास्वपा पक्षले ‘बालेनलाई प्रधानमन्त्री र रविलाई पार्टी अध्यक्ष’ बनाउने सहमति भएको भन्दै एकतर्फी सन्देश प्रवाह गरेकोमा बालेन रुष्ट बनेका थिए।

‘रास्वपाले छलफलका विषयलाई परिपक्व नहुँदै मिडियाबाजी गरेको’ बालेनको गुनासो छ। आजको ‘वान टू वान’ वार्तामा रविले बालेनको सोही गुनासो सम्बोधन गर्दै आगामी सहकार्यको ठोस मोडालिटी प्रस्ताव गर्ने बुझिएको छ।

कुपण्डोलको बैठक चलिरहँदा बालेनको आगामी कदमबारे नयाँ खुलासा पनि भएको छ। बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेको विषय बैठकको अर्को प्रमुख एजेन्डा बनेको छ। बालेनले संसदीय राजनीतिमा प्रवेश गर्न ‘लौरो’ चुनाव चिह्न भएको दल र अन्य स्वतन्त्र समूहहरूको समर्थन जुटाउन आजैदेखि परामर्श तीव्र पारेका हुन्।

पुष १०, २०८२ बिहीबार १३:०९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।