कोशी प्रदेशका क्रिकेटर मिनष थापाको दुर्घटनामा मृत्यु
काठमाडौं : कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगिताहरू खेल्दै आएका प्रतिभाशाली क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। विराटनगर निवासी २७ वर्षीय थापाको बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी कवित कटवालका अनुसार दुर्घटना बिहीबार बिहान करिब पौने १ बजे भएको हो।
विराटनगर-४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी कटवालले जानकारी दिए।
थापाको मृत्युप्रति नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्व कप्तान पारस खड्काले गहिरो दुःख व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापालाई कोशी प्रदेशको एक 'कुशल तथा अत्यन्त प्रतिभाशाली' खेलाडीको रूपमा स्मरण गरेका छन्।
सचिव खड्काले फेसबुकमा लेखेका छन्, ‘अत्यन्तै दुःखद खबर प्राप्त भएको छ। कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनष थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ।’
उनले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत व्यक्त गरेका छन्। थापा लामो समयदेखि कोशी प्रदेशको टोलीबाट घरेलु क्रिकेट खेल्दै आएका थिए।
पुष १०, २०८२ बिहीबार ०९:२८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।