रुस-युक्रेन युद्धमा नयाँ मोड : मस्को पुग्यो अमेरिका र युक्रेनको साझा शान्ति प्रस्ताव

रुस-युक्रेन युद्धमा नयाँ मोड : मस्को पुग्यो अमेरिका र युक्रेनको साझा शान्ति प्रस्ताव

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको नयाँ २० बुँदे योजना सार्वजनिक गर्दै रुसी आक्रमण अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास अघि बढाइएको जानकारी दिएका छन्।

उनले बताएअनुसार यो योजना किएभ र वाशिङ्टनबीच सहमति भइसकेको र मस्कोमा प्रतिक्रिया पाउन पठाइएको छ।

योजनामा युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गरिने, युक्रेन-रूसबीच पूर्ण गैर-आक्रमण सम्झौता हुने, युक्रेनलाई सुरक्षा प्रत्याभूति दिइने, युक्रेनी सेनाको क्षमता कायम रहने र नाटो, अमेरिका तथा युरोपेली साझेदारहरूले आवश्यक सुरक्षा समर्थन प्रदान गर्ने प्रावधानहरू समावेश छन्। 

साथै, युक्रेनले युरोपेली सङ्घमा सदस्यता हासिल गर्ने, अर्थव्यवस्था र पूर्वाधारको पुनर्निर्माणका लागि विकास प्याकेज लागू गर्ने, डनिप्रो नदी र कालो सागरमा व्यापारको पहुँच सुनिश्चित गर्ने र जापोरिज्जिया परमाणु ऊर्जा स्टेसन युक्रेन, अमेरिका र रुसको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

मानवतावादी समितिको स्थापना गरिने, युद्धबन्दी र अन्य कैदीहरूको आदान-प्रदान सुनिश्चित गरिने, युक्रेनमा छिट्टै निर्वाचन सम्पन्न गरिने, र सम्झौताको कानुनी कार्यान्वयन शान्ति परिषद्को निगरानीमा हुने प्रावधानहरू पनि योजना अन्तर्गत रहेका छन्। 

सबै पक्ष सहमत भएपछि तत्काल पूर्ण युद्धविराम लागू हुनेछ। राष्ट्रपति जेलेंस्कीले यस योजनाले युक्रेन-रूस द्वन्द्व अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

पुष ९, २०८२ बुधबार १७:५१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।