विजय हजारे ट्रफीमा विश्व कीर्तिमान : बिहारद्वारा ५७४ रनको विशाल स्कोर, १४ वर्षे वैभवको १९० रन
काठमाडौं : भारतीय ‘लिस्ट ए’ घरेलु क्रिकेट प्रतियोगिता ‘विजय हजारे ट्रफी’मा आज एक ऐतिहासिक विश्व कीर्तिमान कायम भएको छ।
राँचीमा भएको खेलमा बिहारको टोलीले अरुणाचल प्रदेशविरुद्ध निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ५७४ रन को विशाल योगफल तयार पारेको छ।
यो स्कोर एकदिवसीय (लिस्ट ए) क्रिकेट इतिहासकै अहिलेसम्मको सबैभन्दा ठूलो टिम स्कोर हो। यसअघि सन् २०२२ मा तमिलनाडुले बनाएको ५०६ रनको विश्व कीर्तिमानलाई बिहारले तोडेको हो।
तीन जनाले बनाए शतक
बिहारको यो ऐतिहासिक स्कोरमा तीन जना ब्याटरले विष्फोटक शतक प्रहार गरे।
१४ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले मात्र ८४ बलमा १९० रनको अविश्वसनीय पारी खेले। उनले ३६ बलमै शतक पूरा गरेर कीर्तिमान बनाएका थिए। उनको पारीमा १६ चौका र १५ छक्का समावेश थियो।
टोलीका कप्तान सकिबुल गनीले अन्त्यतिर टी-२० भन्दा पनि तीव्र गतिमा ब्याटिङ गरे। उनले मात्र ४० बलमा अविजित १२८ रन बनाए। उनले १० चौका र १२ छक्का प्रहार गरे।
आफ्नो डेब्यु खेल खेलिरहेका आयुष लोहारुले पनि ५६ बलमा ११६ रनको योगदान दिए। उनले ११ चौका र ८ छक्का हिर्काए।
राँचीको मैदानमा अरुणाचलका बलरहरू निरीह साबित भए। ५७५ रनको असम्भव प्राय: लक्ष्य पछ्याएको अरुणाचल प्रदेशले यो समाचार तयार पार्दासम्म ७ ओभरमा बिना कुनै विकेट क्षति ३७ रन बनाएको छ।
पुष ९, २०८२ बुधबार १४:०३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।