मातेको अवस्थामा होटलको बाटो भुलेको भिडियो सार्वजनिक भएपछि बेन डकेटमाथि ईसीबीको छानबिन

मातेको अवस्थामा होटलको बाटो भुलेको भिडियो सार्वजनिक भएपछि बेन डकेटमाथि ईसीबीको छानबिन

एजेन्सी : इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले इंग्लिस ब्याटर बेन डकेटको एक भिडियोको सत्यता जाँच गरिरहेको छ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा डकेट अत्यधिक मदिरा सेवन गरी मातेको अवस्थामा टिम होटेलको बाटो पत्ता लगाउन नसकेको जस्तो देखिएको छ।

यो घटना एसेज सिरिजको दोस्रो र तेस्रो टेस्टको बीचमा भएको हो। ब्रिसबेनमा हार बेहोरेपछि इंग्लिस टोली ‘नूसा’ भन्ने पर्यटकीय ठाउँमा छोटो समयको लागि गएको थियो। मंगलबार यो भिडियो ‘एक्स’मा  सार्वजनिक भएको हो।

मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलमले खेलाडीहरूलाई ताजा महसुस गराउन यो भ्रमणको योजना बनाएका थिए, जहाँ कुनै अभ्यास राखिएको थिएन। तर, यो समयमा केही खेलाडीहरूले रमाइलोमा बढी समय बिताएको देखिएको छ।

इंग्ल्याण्ड पुरुष क्रिकेटका प्रबन्ध निर्देशक रोब कीले यस भ्रमणबारे छानबिन हुने बताएका छन्। ईसीबीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी सामाजिक सञ्जालमा आएको भिडियोबारे जानकार छौं। खेलाडीहरूबाट सधैं उच्च स्तरीय व्यवहारको अपेक्षा गरिन्छ। अहिले हामी तथ्य बुझ्दैछौं, त्यसैले अनुसन्धान नसकिएसम्म थप टिप्पणी गर्दैनौं।’

जारी एसेज सिरिजमा ३१ वर्षीय डकेटको प्रदर्शन निकै खराब रहेको छ। उनले अहिलेसम्म १६.१६ को औसतमा जम्मा ९७ रन मात्र बनाएका छन्। इंग्ल्याण्डले अष्ट्रेलियासँगको यो सिरिजमा लज्जास्पद हार बेहोर्दै एसेज गुमाइसकेको छ।

डकेट विवादमा आएको यो पहिलो पटक होइन। ८ वर्षअघि (२०१७-१८) को एसेज टुरमा पनि आफ्नै टिमका जेम्स एन्डरसनमाथि मदिरा खन्याएपछि उनलाई टिमबाट निलम्बन गरी जरिवाना तिराइएको थियो र घर फिर्ता पठाइएको थियो।

पुष ९, २०८२ बुधबार ०९:१६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।