बिहारको नक्कली सर्टिफिकेट पेश गरेर पुलिसमा जागिर, एसएसपीसम्म बढुवा !

बिहारको नक्कली सर्टिफिकेट पेश गरेर पुलिसमा जागिर, एसएसपीसम्म बढुवा !

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको सेवामा प्रवेश गरेको र पदोन्नति लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत गिरीले भारतको बिहारबाट जारी भएको माध्यमिक शिक्षा (एसएलसी)को नक्कली प्रमाणपत्र पेश गरेको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले मंगलबार आरोपपत्र दायर गरेको हो। उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभागमा कार्यरत थिए।

आयोगका अनुसार गिरीले सन् १९८८ मा बिहार विद्यालय परीक्षा समिति, पटनाबाट ‘सेकेन्डरी स्कुल एग्जामिनेशन’ (रोल कोड ५५०१, रोल नम्बर ७१८) उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए।

तर, आयोगले गरेको छानबिनका क्रममा उक्त बोर्डको अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको र गिरीको रोल नम्बर तथा शैक्षिक योग्यता नक्कली रहेको व्यहोरा बिहारबाटै प्राप्त भएको थियो।

गिरीले सोही नक्कली एसएलसी प्रमाणपत्रकै आधारमा २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा पीसीएल र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङको शैक्षिक योग्यता हासिल गरेका थिए।

उनले तिनै झुटा प्रमाणपत्रहरू पेश गरी मिति २०५२ पुस १६ गते नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिएका थिए।

सोही आधारमा उनले विभिन्न तालिम, ओहोदा, लाभ र सुविधा लिँदै एसएसपी पदसम्म बढुवा लिएको अख्तियारको अनुसन्धानले देखाएको छ।

एसएसपी गिरीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ।

उनलाई कानुन बमोजिम सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

पुष ९, २०८२ बुधबार ०८:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।