‘जेनजी २.०’ र नाउपा नेपालबीच एकता

‘जेनजी २.०’ र नाउपा नेपालबीच एकता

काठमाडौं : ‘जेनजी २.०’ समूह नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालमा समाहित भएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा. हरि कार्की संरक्षक रहेको जेनजी २.० समूह र नाउपा नेपालबीच एकता भएको हो।

सहमति पत्रमा नाउपा नेपालको तर्फबाट रेशम चौधरी र जेनजी २.० का तर्फबाट संरक्षक कार्कीले हस्ताक्षर गर्दै एकताको घोषणा गरे। कार्यक्रममा डा. कार्कीले आफूहरू लामो समयदेखि नागरिक उन्मुक्ति पार्टी नेपालको विचार र एजेन्डाबाट प्रभावित भई आवद्ध हुन आतुर रहेको बताए।

सोही अवसरमा संरक्षक चौधरीले राज्यको विभेदकारी सोचका कारण आफू अझै पनि पूर्ण रूपमा ‘नेपाली’ हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, 'सदियौंदेखि एउटै वर्ग र समूहले राज्यको स्रोत र शक्तिमा हालीमुहाली गरिरहेको छ, जसले थारु लगायतका उत्पीडित वर्गलाई नागरिकको दर्जा दिनै चाहेन।'

राज्यको गलत सोचका कारण थारु र उत्पीडित समुदाय राज्यको कार्यकारी भूमिकामा पुग्न नसक्नको उनको ठहर छ। टीकापुर विद्रोहको सन्दर्भ कोट्याउँदै चौधरीले देशमा ठूला राजनीतिक आन्दोलन र परिवर्तन भए पनि आम नागरिकले अझै न्यायको अनुभूति गर्न नपाएको दाबी गरे। देशका ठूला दलका नेताहरू पटक-पटक प्रधानमन्त्री बने पनि उनीहरूले थारु आन्दोलनको मर्म बुझ्न नसकेको उनको आरोप छ।

जेनजी आन्दोलनको मर्मलाई बुझेर फागुन २१ गते हुने निर्वाचनमा सबै सहभागी हुनुपर्ने उनले बताए। जेनजी २.० समूहसँग एकतापछि नाउपा नेपाललाई थप युवामैत्री र सशक्त बनाउने उनको भनाई छ। 

पुष ८, २०८२ मंगलबार २१:५३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।