शान्ति सुरक्षा कायम गर्न आग्रह गर्दै कोइरालाले भने : कांग्रेसलाई निर्वाचनमा जान आपत्ति छैन
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका छन्।
सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा मंगलबार यहाँ आयोजित एक कार्यक्रममा नेता डा कोइरालाले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ति नभएको बताए।
'चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन, प्रहरीको मनोबल उच्च बनाउनुपर्छ,' उनले भने।
निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै नेता डा कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताए। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँ गाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उनको भनाइ थियो।
नेपालको राष्ट्रियता कमजोर भएको कारण गत भदौ २४ को परिस्थिति आएको नेता डा कोइरालाले बताए। उनले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको बताए। नेता डा कोइरालाले कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणालगायतका नेताको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै उक्त अनुसन्धानका लागि आफ्नोतर्फबाट साथ र सहयोग हुने उल्लेख गरे।
आफूले सुशासन र भ्रष्टाचारको अन्त्यलाई प्रमुख मुद्दा बनाउँदै आएको स्मरण गर्दै अहिलेका जेनजी पुस्ताले पनि त्यही खोजेको उनको भनाइ थियो।
पुष ८, २०८२ मंगलबार २०:१७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।