राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच संवाद खुलाए, निर्वाचनबारे बेग्लाबेग्लै छलफल

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच संवाद खुलाए, निर्वाचनबारे बेग्लाबेग्लै छलफल

काठमाडौँ : अन्तरिम सरकार गठनको सय दिन कट्दा पनि प्रमुख दलका शीर्ष नेता र प्रधानमन्त्री सुशीला कार्कीबीच निर्वाचन लगायतका विषयमा छलफलका लागि संवाद नखुलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले दुवै पक्षलाई आफ्नो सरकारी निवासमा बोलाए।

फागुन २१ गते निर्वाचन गर्ने म्याण्डेडसहित गठन भएको सरकारले पटक पटक दलहरूसँग निर्वाचनबारे छलफल गरे पनि दोस्रो अनि तेस्रो तहका नेताहरू मात्र सहभागी भएका थिए। तीन दलका शीर्ष नेताको अनुहार पनि हेर्न मन छैन भन्ने प्रधानमन्त्री कार्कीको भनाई सार्वजनिक भएपछि थप सम्बन्ध चिसिएको थियो।

निर्वाचन गर्न तीन महिना पनि बाँकी नभए पनि दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच संवाद नखुलेपछि मंगलबार राष्ट्रपतीले दुवै पक्षलाई एकै ठाउँमा राखेर निर्वाचनबारे छलफल गराए।

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड राखेर राष्ट्रपतीले छलफल गराए।

सरकार गठनपछि दलका नेताहरूसँगको संवाद खुलाउन राष्ट्रपति पौडेलले यसरी नै राष्ट्रपति कार्यालयमा सरकार र दलका प्रतिनिधिहरू राखेर छलफल गराएपछि भेटघाट र छलफलकोक्रम बढेको थियो।

मंगलबार भएको छलफलमा निर्वाचनको वातावरण बनाउनेबारे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने समझदारी बनेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

प्रारम्भमा प्रधानमन्त्रीसहित करिब दुई घण्टा प्रमुख दलका नेताहरूसँग छलफल भएपछि राष्ट्रपतीले प्रधानमन्त्रीबिना पनि दलका नेताहरूसँग छलफल गरेका थिए। छलफलको विस्तृत जानकारी भने सार्वजनिक भएको छैन।

राष्ट्रपतिको सचिवालयले छलफलमा राष्ट्रपतिले सरकार प्रमुख तीन दलका शीर्ष नेताहरूलाई  देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिन निर्वाचनको घोषण भएको भन्दै यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्न आग्रह गरेका थिए।

पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई उनले आग्रह गरेका थिए।

पुष ८, २०८२ मंगलबार १८:४३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।