एक ओभर ५ विकेट : इन्डोनेसियाका प्रियान्दानाले रचे नयाँ विश्व कीर्तिमान
एजेन्सी : इन्डोनेसियाका दाहिने हाते तीव्र बलर गेडे प्रियान्दानाले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको इतिहासमा एकै ओभरमा पाँच विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन्।
मंगलबार बालीमा कम्बोडियाविरुद्धको पहिलो टी-२० खेलमा २८ वर्षीय प्रियान्दानाले कीर्तिमानी सफलता हात पारेका हुन्। यो उपलब्धिसँगै अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा एकै ओभरमा ५ विकेट लिने उनी विश्वकै पहिलो खेलाडी बनेका छन्।
इन्डोनेसियाले दिएको १६८ रनको लक्ष्य पछ्याइरहेको कम्बोडिया १५ ओभरको समाप्तिमा १०६ रन बनाउँदै ५ विकेटको क्षतिमा खेलिरहेको थियो। खेलमा कम्बोडियाको सम्भावना जीवितै रहेको बेला १६ औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका प्रियान्दानाले खेलको समीकरण नै बदलिदिए।
उनले ओभरको पहिलो तीन बलमा लगातार तीन विकेट लिँदै ‘ह्याट्रिक’ पूरा गरे। उनले शाह अबरार हुसेन, निर्मलजीत सिंह र चान्थुएन राथानकलाई लगातार पेभिलियनको बाटो देखाए। चौथो बल डट फालेका उनले पाँचौं बलमा मोङदरा सोकलाई आउट गरे।
त्यसपछि एउटा ‘वाइड’ बल फालेका प्रियान्दानाले ओभरको अन्तिम वैधानिक बलमा पेल भेनाकलाई आउट गर्दै एकै ओभरमा पाँचौं सफलता पूरा गरे। उनको यो घातक बलिङका कारण कम्बोडिया अन्ततः ६० रनले पराजित हुन पुग्यो।
बलिङमा चम्किनुअघि प्रियान्दानाले ब्याटिङमा ११ बलमा ६ रन जोडेका थिए। इन्डोनेसियाका लागि विकेटकिपर-ब्याटर धर्मा केसुमाले विष्फोटक ब्याटिङ गर्दै ६८ बलमा ८ चौका र ६ छक्काको मद्दतले अविजित ११० रनको शतकीय योगदान दिएका थिए।
अन्तर्राष्ट्रिय टी-२० मा यो पहिलो पटक भएता पनि समग्र टी-२० क्रिकेट (घरेलु तथा फ्रेन्चाइज)मा भने यो उपलब्धि यसअघि दुई पटक हासिल भइसकेको छ। यसअघि सन् २०१३-१४ को भिक्ट्री डे टी-२० कपमा बंगलादेशका अल-अमिन हुसेन र सन् २०१९-२० को सैयद मुश्ताक अली ट्रफीमा कर्नाटकका अभिमन्यु मिथुनले हरियाणाविरुद्ध एकै ओभरमा ५ विकेट लिएका थिए।
अन्तर्राष्ट्रिय टी-२० मा यसअघि १४ पटक एकै ओभरमा ४ विकेट लिइएका रेकर्डहरू छन्। श्रीलंकाका दिग्गज बलर लासिथ मलिंगाले सन् २०१९ मा न्युजिल्यान्डविरुद्ध लगातार ४ बलमा ४ विकेट लिएको रेकर्ड अहिलेसम्मकै चर्चित मानिन्थ्यो। तर, अब एकै ओभरमा ५ विकेटको नयाँ र दुर्लभ कीर्तिमान गेडे प्रियान्दानाको नाममा दर्ता भएको छ।
पुष ८, २०८२ मंगलबार १८:३८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।