जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानमा बोलायो

जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानमा बोलायो

काठमाडौं : भदौ २३ र २४ गते भएको आन्दोलन र त्यस क्रममा भएको धनजनको क्षतिबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले मंगलबार लेखकलाई पत्र काट्दै सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।

घटनाको समयमा सुरक्षा र प्रशासनिक निकायको नेतृत्व सम्हालेका अधिकारीहरूको बयान सकिएपछि अब राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया सुरु गरिएको हो।

यसपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी छ। तर, अध्यक्ष ओलीले भने आयोगका पदाधिकारीको निष्पक्षतामाथि प्रश्न उठाउँदै बयानमा नजाने संकेत गरेका छन्।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले भदौ २३ को 'जेन-जी' आन्दोलन र २४ गते भएको विध्वंसका घटना छानबिन गर्न कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। 

सुरुमा तीन महिनाको कार्यादेश पाएको आयोगको म्याद सरकारले हालै एक महिनाका लागि थप गरेको थियो। घटनाको समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेका अधिकारीहरूको बयान सकेपछि आयोग अब मुख्य राजनीतिक पात्रहरूको बयान लिन केन्द्रित भएको छ। 

पुष ८, २०८२ मंगलबार १५:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।