नेपाल चिकित्सक संघको निर्वाचनमा डा. अरुण शाहीलाई सहभागी गराउन काठमाडौं प्रशासनको निर्देशन
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघलाई पत्र काट्दै डा. अरुण शाहीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन निर्देशन दिएको छ। संघको आसन्न निर्वाचनमा बागमती प्रदेश संयोजक (उपाध्यक्ष) पदका उम्मेदवार डा. शाहीको उम्मेदवारी खारेज गरिएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो।
प्रशासनले मंगलबार (पुस ८ गते) संघलाई पठाएको पत्रमा निर्वाचन नियमावली विपरीतका मनोगत शर्तहरू राखी लोकतान्त्रिक निर्वाचन प्रक्रियामा भाग लिनबाट बञ्चित गर्ने कार्य कानुन विपरीत देखिएको ठहर गरेको छ।
शासकीय अधिकृत जनक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को परिच्छेद ४ को नियम १ उद्धृत गर्दै भनिएको छ, ‘उम्मेदवार हुन संघको आजीवन सदस्य स्वयं वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक मार्फत तोकिएको ढाँचामा मनोनयन पत्र दर्ता गर्न वा गराउनु पर्नेछ।’
प्रशासनले मंसिर २८ गते निर्वाचन समितिले जारी गरेको नोटरी पब्लिकसम्बन्धी सूचना नियमावलीको मर्म विपरीत रहेको भनेको छ।
पत्रमा भनिएको छ, ‘सो सम्बन्धमा नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को नियम विपरीत मनोमानी रूपमा विभिन्न शर्तहरू राखी लोकतान्त्रिक निर्वाचन प्रक्रियामा भाग लिनबाट बञ्चित गर्ने कार्य कानुन विपरीत भएको देखिँदा उक्त नियमावली बमोजिम तोकिएको समय सीमाभित्र सक्कल वारेसनामा वा मञ्जुरीनामाबाट उम्मेदवारी दर्ता गरेका चिकित्सकहरूलाई उक्त निर्वाचनमा सहभागी गर्न/गराउन हुन आदेशानुसार अनुरोध छ।’

के हो विवाद?
डा. अरुण शाही ‘ईस्मफ इम्युनो-अन्कोलोजी २०२५’ सम्मेलनमा सहभागी हुन मंसिर २३ गते बेलायत गएका थिए। विदेश जानुअघि उनले डा. विपिन पौडेललाई वारेसनामा दिएर गएका थिए। संघको निर्वाचन समितिले पुस ३ गते प्रकाशन गरेको उम्मेदवारको प्रथम नामावलीमा डा. शाहीको नाम समावेश थियो।
तर, विपक्षी उम्मेदवार डा. सुवास भट्टराईले वारेसनामा दिने व्यक्ति देश बाहिर रहेको र नोटरी पब्लिकबाट प्रमाणित नभएको भन्दै उजुरी दिएपछि निर्वाचन समितिले डा. शाहीको उम्मेदवारी खारेज गरेको थियो।
डा. शाहीका अनुसार, निर्वाचन समितिले उनी विदेश गइसकेपछि (मंसिर २८ गते) मात्रै अचानक नोटरी प्रमाणित वारेसनामा चाहिने सूचना जारी गरेको थियो।
उनले भने, ‘समितिको सूचनापछि पहिले दिइएको वारेसनामालाई नै मेरो वारेसले नोटरी प्रमाणित गरी मनोनयन दर्ता गराएका हुन्। पहिलो चरणमा नाम निस्कनुले नै मेरा कागजात र योग्यता पुगेको प्रमाणित हुन्छ।’
डा. शाहीले आफ्नो उम्मेदवारी खारेजीको निर्णय सच्याउन माग गर्दै निर्वाचन समितिमा निवेदन समेत दिएका छन्। उनले निर्वाचन समितिले हतारमा, आफूलाई सफाइको यथोचित मौका नदिई र आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर उम्मेदवारी खारेज गरेको आरोप लगाएका छन्।
जिल्ला प्रशासनको यो पत्रसँगै डा. शाहीको उम्मेदवारी पुनः कायम हुने बाटो खुलेको छ। संघको निर्वाचन उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौंमा माघ १५, १६ र १७ गते हुँदैछ।
पुष ८, २०८२ मंगलबार १४:१५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।