महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक पाठक भन्छन्- ‘साहसी क्रिकेट खेल्छौँ’

महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक पाठक भन्छन्- ‘साहसी क्रिकेट खेल्छौँ’

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोलीमा अथाह क्षमता रहेको र घरेलु मैदानको फाइदा उठाउँदै नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्।

यसअघि थाइल्यान्डको महिला टोलीलाई विश्वकपमा पुर्याएका र भारतीय क्रिकेटर हरमनप्रीत कौरका व्यक्तिगत ब्याटिङ कोच समेत रहेका पाठकले नेपाली खेलाडीको ‘प्यासन’नै सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन्।

क्यानद्वारा सार्वजनिक गरिएको भिडियो सन्देशमा पाठकले भने, ‘मैले नेपाली टोलीलाई विपक्षीको रूपमा धेरै नजिकबाट नियालेको छु। यो टोलीसँग गम्भीर क्षमता र प्रतिभा छ। यहाँका खेलाडी र समर्थकहरूमा क्रिकेटप्रति जुन लगाव छ, त्यसले मलाई उत्साहित बनाएको छ।’

प्रशिक्षक पाठकले नेपाली टोलीलाई डररहित र साहसी क्रिकेट खेलाउने योजना बनाएका छन्। ब्याटिङ, बलिङ वा फिल्डिङ जुनसुकै अवस्थामा पनि खेलाडीले बहादुरीका साथ निर्णय लिन सकून् भन्ने उनको चाहना छ।

उनले खेलको कठिन परिस्थितिमा खेलाडीले भावनामा बगेर होइन, उपलब्ध विकल्पहरू मध्ये सही निर्णय लिनुपर्नेमा उनले जोड दिएका छन्।

नेपालमा प्रतियोगिता हुनुलाई उनी ठूलो अवसर मान्छन्। घरेलु पिचको अवस्था र समर्थकको साथले टोलीलाई मानसिक रूपमा बलियो बनाउने उनको बुझाइ छ।

‘घरेलु मैदानमा खेल्दा दबाब होइन, अवसरको रूपमा लिनुपर्छ’, उनले भने।

ग्लोबल छनोटमा राम्रो नतिजा निकाल्नु तत्कालको लक्ष्य भए पनि आगामी १-२ वर्षमा नेपाललाई महिला क्रिकेटको एक शक्तिशाली राष्ट्र बनाउने आफ्नो भिजन रहेको उनले बताए।

प्रशिक्षक पाठकले नेपाली समर्थकहरूको प्रशंसा गर्दै यो महत्त्वपूर्ण प्रतियोगितामा ठूलो सङ्ख्यामा उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन आग्रह गरेका छन्।

उनले भने, ‘नेपाली समर्थकहरूको जोस विश्वमै परिचित छ, यो ग्लोबल छनोटमा हामीलाई तपाईँहरूको साथ चाहिएको छ।’

नेपालले प्रतियोगिता अघि जनवरी १४ मा आयरल्यान्ड र जनवरी १६ मा अमेरिकासँग वार्म-अप (अभ्यास) खेल खेल्ने तालिका समेत रहेको छ।

सार्वजनिक तालिका अनुसार आयोजक नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स जस्ता बलिया टोलीहरू रहेका छन्। त्यस्तै, समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पीएनजी), नामिबिया र अमेरिका रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल सन् २०२६ जनवरी १८ मा थाइल्यान्ड विरुद्ध माथिल्लो मूलपानी क्रिकेट मैदानमा खेल्नेछ। समूह चरणका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछन्।

पुष ८, २०८२ मंगलबार १३:२७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।