२०२५ को सबैभन्दा धेरै कमाउने बलिउड फिल्म बन्यो ‘धुरन्धर’

२०२५ को सबैभन्दा धेरै कमाउने बलिउड फिल्म बन्यो ‘धुरन्धर’

एजेन्सी : बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै नयाँ रेकर्ड कायम गरेको छ।

प्रदर्शनको १८औं दिनसम्म आइपुग्दा फिल्मले विश्वभर कुल ८७७ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। योसँगै ‘धुरन्धर’ यो वर्षकै सर्वाधिक कमाउने फिल्म बनेको छ।

यसअघि यो कीर्तिमान ऋषभ शेट्टीको कन्नड फिल्म ‘कान्तारा : द लेजेन्ड-च्याप्टर १’ को नाममा थियो, जसले कुल ८५० करोड कमाएको थियो। समग्र भारतीय सिनेमाको इतिहासमा भने ‘धुरन्धर’ कमाइको हिसाबले ११औँ नम्बरमा उक्लिएको छ।

भारतभित्र मात्रै फिल्मको कुल कलेक्सन ५९८ करोड पुगेको छ। फिल्मले सोमबार पनि उत्कृष्ट प्रदर्शन गर्दै १९.७० करोड कमाएको छ भने दोस्रो हप्ताको आइतबार ४० करोडको व्यापार गरेको थियो।

‘एनिमल’ को रेकर्ड ध्वस्त
दोस्रो सप्ताहन्तको कमाइमा ‘धुरन्धर’ ले रणवीर कपुरको ब्लकबस्टर फिल्म ‘एनिमल’ को रेकर्ड पनि तोडिदिएको छ।

‘एनिमल’ ले प्रदर्शनको १७औं दिन १४.५ करोड कमाएको थियो भने ‘धुरन्धर’ ले सोही दिन ३८.५ करोड कमाएको छ।

अझ रोचक त के छ भने, ‘एनिमल’ को दोस्रो आइतबारको कमाइभन्दा ‘धुरन्धर’ को सोमबारको कमाइ (१९.७० करोड) नै बढी छ।

रिलिजको १८ दिनमै ‘स्त्री २’, ‘सिक्रेट सुपरस्टार’, ‘सुल्तान’ र ‘छावा’ जस्ता फिल्मलाई पछि पार्दै ‘धुरन्धर’ बलिउड इतिहासको छैटौं सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ।

अहिले आमिर खानको फिल्म (दंगल) १९ सय ६८ करोड कमाइसहित शीर्ष स्थानमा छ।

हालको कमाइको रफ्तार हेर्दा क्रिसमससम्ममा यसले सलमान खानको ‘बजरंगी भाइजान’ र ‘एनिमल’ लाई उछिन्दै चौथो सर्वाधिक कमाउने हिन्दी फिल्म बन्ने अनुमान गरिएको छ।

पुष ८, २०८२ मंगलबार १३:१४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।