पोखराका मुख्य सडकबाट वर्कसप र कवाडी केन्द्र हटाउन ३५ दिने अल्टिमेटम
पोखरा : पोखरा महानगरपालिकाले मुख्य सडक किनार र राजमार्ग क्षेत्रमा सञ्चालित वर्कसप, ग्यारेज तथा कवाडी सङ्कलन केन्द्रहरू हटाउन निर्देशन दिएको छ।
महानगरले एक सार्वजनिक सूचना जारी गर्दै यस्ता संरचना व्यवस्थापन गर्न ३५ दिनको समयसीमा (अल्टिमेटम) दिएको हो।
सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्य बिग्रिएको र वातावरणीय स्वच्छतामा असर परेको भन्दै महानगरले यो अभियान सुरु गरेको हो।
महानगरले विशेषगरी पृथ्वी राजमार्गको कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म, पोखरा-बाग्लुङ राजमार्गको जिरो किलोमिटरदेखि फेदीसम्म र नगर क्षेत्रका अन्य प्रमुख सडकहरूमा वर्कसप हटाउँदैछ।
सडकको दायाँबायाँका सटर तथा खाली जमिनमा सञ्चालन भइरहेका अटो मोबाइल वर्कसप र ग्यारेज, कवाडी सङ्कलन केन्द्र
कारवास, ग्रिल उद्योग हटाइनेछ भने फुटपाथमा निर्माण सामग्री राख्नसमेत निषेध गरिनेछ।
महानगरले हार्डवेयर पसल तथा डिपोहरूलाई पनि सडकपेटीमा निर्माण सामग्री, साइनबोर्ड वा अन्य वस्तु नराख्न सचेत गराएको छ। फुटपाथ अतिक्रमण गर्दा पैदल यात्रीलाई सास्ती भएको र दुर्घटनाको जोखिम बढेको महानगरको ठहर छ।
महानगर प्रमुख धनराज आचार्यले ३५ दिने म्यादभित्र अटेर गरी व्यवसाय सञ्चालन गरेको वा सामग्री नहटाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएका छन्।
‘यस्ता उद्यमबाट महानगरको वातावरणीय स्वच्छता र ट्राफिक व्यवस्थापनमा प्रतिकूल प्रभाव परेको छ,’ प्रमुख आचार्यले भने, ‘त्यसैले अन्यत्र व्यवस्थापनका लागि सूचना जारी गरिएको हो।’
महानगरले यस अभियानमा सहयोग गर्न घरधनी, व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई अपिल समेत गरेको छ।
मुख्य सडकसँगै जोडिएर खुलेका ग्यारेजहरूले सडकमै सवारी मर्मत गर्दा पोखरामा ट्राफिक जामको समस्या विकराल बन्दै गएको छ।
पुष ८, २०८२ मंगलबार ०९:२२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।