रवि-बालेन भेटपछि असिम शाह भन्छन्- सौहार्दपूर्ण वातावरणमा सात घण्टा गफगाफ, एउटै गाडीको यात्रा सहकार्यको सन्देश
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता असिम शाहले पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको भेटवार्ताले सहकार्यको स्पष्ट र बलियो सन्देश दिएको बताएका छन्।
सोमबार राति अबेरसम्म चलेको करिब सात घण्टा लामो छलफल र त्यसपछि दुवै नेता एउटै गाडीमा बाहिरिनुलाई शाहले ‘मिलेर अघि बढ्ने यात्राको आरम्भ’ को रूपमा व्याख्या गरेका छन्। कमलपोखरीस्थित आफ्नै कार्यालयमा भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद शाहले यो भेटघाट नितान्त व्यक्तिगत र आत्मीय रहेको बताए।
सांसद शाहले भेटवार्तालाई राजनीतिक दाउपेचभन्दा पनि भावना साटासाटको रूपमा अर्थ्याएका छन्।
उनले भने, ‘यो एउटा दाजुको र एउटा भाइको एक ठाउँमा बसेर भएको सामान्य गफगाफ हो। एक-अर्काका पीडा, एक-अर्काका दुःख र एक-अर्काका भावना साटासाट भएको छ। एकदमै सौहार्दपूर्ण वातावरणमा छलफल भयो।’
लामो समयपछि भेटवार्ता हुनुको कारण खुलाउँदै शाहले विगतमा दुई नेतालाई खुलेर कुरा गर्ने अवसर नजुरेको बताए।
‘रवि दाइ आफ्नो कानुनी संघर्ष र सरकारमा व्यस्त हुनुहुन्थ्यो, मेयर साब महानगरको काममा व्यस्त हुनुहुन्थ्यो। दाजुभाइको हिसाबले यसरी बस्ने मौका नै जुरेको थिएन,’ शाहले खुलासा गरे, ‘आज त्यो मौका जुर्दा र मनका कुरा साटासाट हुँदा बसाइ लामो भएको मात्र हो। यो देशको आवश्यकता र लामो समयदेखिको ‘पेन्डिङ’ भेटघाट थियो।’
भेटवार्तापछि रवि र बालेन एउटै गाडीमा निस्किएको प्रसंगलाई सांसद शाहले विशेष अर्थका रूपमा लिनुपर्ने बताए।
सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘उहाँहरू एउटै गाडीमा जानुभयो। अब एउटै गाडीमा यसरी नै अघि बढ्छ, त्यसरी नै बुझौँ। रवि र बालेन, दुईजना मिलेर अब यो देश बनाउनुपर्छ भन्ने सन्देश नै यति हो।’
बालेनलाई प्रधानमन्त्री बनाउने चर्चाबारे सोधिएको प्रश्नमा शाहले कुनै निश्चित पदको लेनदेन नभएको प्रस्ट पारे।
उनले भने, ‘त्यस्तो कुरा केही भएको होइन। देश बनाउनुपर्छ, मिलेर जानुपर्छ भन्ने हो। देशलाई प्राथमिकतामा राखेर अघि बढ्ने सहमति भएको छ।’
यद्यपि, रास्वपा सभापति लामिछानेले वैकल्पिक शक्तिहरूको एकताका लागि आफू ‘पहिलो त्याग’ गर्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।
जेन-जी आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबिच भएको यो वार्तालाई ‘कथाको सुखद सुरुवात’ भन्दै शाहले सामाजिक सञ्जालमा लेखेका छन्- ‘यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।’
पुष ८, २०८२ मंगलबार ०७:४१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।