एमाले नेता ऐन महर धरौटीमा रिहा, पत्नी अनुजा पक्राउ

एमाले नेता ऐन महर धरौटीमा रिहा, पत्नी अनुजा पक्राउ

काठमाडौं : विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा खेपिरहेका एमाले नेता ऐन महर धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले सोमबार महरलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतको आदेशअनुसार धरौटी बुझाएपछि महर रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार महर सोमबार बयानका लागि अदालत उपस्थित भएका थिए।

तर, सोही मुद्दामा प्रतिवादी रहेकी महरकी पत्नी अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको छ। अदालतमा थुनछेक बहस नसकिएका कारण उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार श्रेष्ठको हकमा बहस नसकिएकाले उनलाई मंगलबार पुनः अदालतमा पेस गरिनेछ।

महर दम्पतीविरुद्ध रश्मिला धामीले विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गतको कसुरमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पुर्जी जारी भएपछि केही समय फरार रहेका महर सोमबार अदालतमा हाजिर भएका थिए।

 

पुष ७, २०८२ सोमबार २०:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।