हिजो दलहरूबाट त्रुटि भए, आवेगलाई आज हामीले भोगिरहेका छौं : प्रधानमन्त्री कार्की
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको सरकार जेनजीको रगतमा यसोआराम गर्ने मनसायले नआएको बताएकी छन्। सोमबार बसेको सर्वदलीय बैठकमा उनले हिजोको दलहरू र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बताइन्।
उनले विगतका त्रुटिहरूको परिणाम अहिले भोग्नुपरिरहेको बताइन्। तर, हिजो भएका कमजोरीका कारण उत्पन्न आवेगको मारमा आफूहरू परेको उनले बताइन्। आफूहरूमाथि लगाइएका आरोपहरूलाई देशप्रतिको जिम्मेवारी सम्झेर सहने तर गलत नियतले हुने प्रहारलाई स्वीकार नगर्ने उनको भनाई थियो।
उनले भनिन्, ‘यहाँ कसले कसलाई के दोष लगाउने, हामी अचानो त होइन नि! हिजो के त्रुटि भए, जसको परिणाम २३ र २४ को घटना भयो, त्यो आवेगलाई हामीले भोगिरहेका छौं। आज हामी आलोचनाको पाटो जेनजी र राजनीतिक पार्टी दुवैबाट भएका छौं। त्यसैले हामी अचानो त होइनौं।'
प्रधानमन्त्री कार्कीले अगाडि थपिन्, 'जुन किसिमको आक्षेप हामी खेपिरहेका छौं, त्यसको लागि त तयार छौं, किनभने त्यो मुलुकको लागि हो। यो देशमा जन्मेर यति वर्ष नुन खाएपछि देशको लागि केही गर्नुपर्छ भन्ने हाम्रो विचारमा छ। हामी जेनजीको रगतमा यसो आराम गर्न आएको होइनौं। हामीले गरेको पछि छैन। हिजोको दलहरूले जसरी रमाइलो गरेका थिए भने आज हामीले के गरिरहेका छौं, त्यो मूल्यांकन गर्नु।’
यस्तै, उनले सबैभन्दा महान् भनेको जनता र जनताको सेवा राजनीतिक दलहरूले गर्नुपर्ने भन्दै जनताको अहिलेको माग के हो त्यो बुझ्न जरुरी रहेको बताइन्।
उनले भनिन्, ‘यहाँ हामी न कोही वादी छौं, न प्रतिवादी छौं। आफ्नो चित्त नबुझेको कुरा राख्नु आफ्नो कुरा हो, कुन दललाई के कुरामा चित्त बुझेको हुँदैन। तर आखिरमा यो देशको सबैथोक भनेको जनता हो। कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन वा केही भयो भने त्यसको नकारात्मक असर जनतालाई दिनुहुँदैन। किनभने सबैभन्दा महान् भनेको जनता हो, राजनीतिक दल भनेको दोस्रो कुरा हो। पहिलो कुरा भनेको जनताको सेवा गर्न बसेको हो, जनताको अहिलेको माग के हो ? त्यो बुझ्नुपर्छ।’
अहिलेको एउटा चुनौती भनेको युवा वर्गलाई सबैभन्दा अगाडि कसरी ल्याउने र कसरी मुलुकको सत्ता शासन अघि बढाउने भन्ने नै रहेको पनि उनको भनाई छ। उनले एक दुई वटा दलबाहेक निर्वाचन हुनु हुँदैन भन्ने कसैको पनि विचार नरहेको पनि बताइन्।
पुष ७, २०८२ सोमबार १९:१५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।