महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सहयोग

महालक्ष्मी विकास बैंकद्वारा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सहयोग

काठमाडौं : महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरू सम्पन्न गरेको छ।

बैंकले स्वास्थ्य क्षेत्रतर्फ हुम्ला जिल्लाका ज्येष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षण र नसर्ने रोग सम्बन्धी सचेतना कार्यशालाका लागि ज्येष्ठ नागरिक चौतारी, ललितपुरलाई आर्थिक सहयोग गरेको छ। यस्तै, हुम्लाकै अदानचुली गाउँपालिकाका विपन्न दलित समुदाय, अनाथ बालबालिका तथा एकल महिला/पुरुषहरूलाई खाद्यान्न राहत उपलब्ध गराउन एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्रलाई सहयोग प्रदान गरेको छ।

पूर्वाधार तथा शान्ति सुरक्षातर्फ सहयोग पुर्याउँदै बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य सहज बनाउन ५ थान कम्प्युटर र ५ थान टेबल हस्तान्तरण गरेको छ। शिक्षा र वातावरणतर्फ बैंकले बागलुङ र झापाका विभिन्न माध्यमिक विद्यालयहरूमा छात्राहरूका लागि आधुनिक शौचालय निर्माण गर्न रोटरी क्लबहरूमार्फत आर्थिक सहयोग गरेको छ। 

यसैगरी, ललितपुरको बालकुमारी आधारभूत विद्यालयका १८० जना विद्यार्थीलाई न्यानो कपडा र गोरखाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ। बैंकले विगतदेखि नै गर्दै आएका यस्ता सामाजिक कार्यहरूबाट देशको समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

पुष ७, २०८२ सोमबार १८:४३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।