डीआरएसको खर्च आईसीसीले ब्यहोर्नुपर्छ- मिचेल स्टार्क

डीआरएसको खर्च आईसीसीले ब्यहोर्नुपर्छ- मिचेल स्टार्क

एजेन्सी : अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग हुने ‘डीआरएस’ प्रविधिको खर्च अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नै ब्यहोर्नुपर्ने धारणा राखेका छन्।

हाल जारी एसेज सिरिजमा ‘रियल टाइम स्निको’ प्रविधिमा देखिएको त्रुटि र विवादपछि स्टार्कले यस्तो प्रतिक्रिया दिएका हुन्।

एसेज सिरिजका क्रममा अष्ट्रेलिया र इंग्ल्यान्ड दुवै टोलीले निर्णय प्रक्रियामा असन्तुष्टि जनाएका छन्।

स्टार्कले भने, ‘अम्पायर र अधिकारीहरूले प्रयोग गर्ने प्रविधि भएकाले यसको खर्च आईसीसीले नै तिर्नुपर्छ। साथै, विश्वभर एउटै प्रदायक प्रयोग गरिनुपर्छ, जसले गर्दा अन्योल र असन्तुष्टि कम होस्।’

हाल आयोजक देशका प्रसारणकर्ताहरूले यो प्रविधिको खर्च ब्यहोर्ने चलन छ, जसले गर्दा देश अनुसार फरक-फरक प्रविधि प्रयोग भइरहेको छ।

के भएको थियो विवाद?
एडीलेड टेस्टका क्रममा ब्याट्सम्यान एलेक्स क्यारीको रिभ्यूमा ‘स्निको’ अपरेटरको गल्तीका कारण गलत निर्णय भएको स्वीकार गरिएको थियो।

यसपछि म्याच रेफ्रीले इंग्ल्यान्डको रिभ्यू फिर्ता गरिदिएका थिए। स्टार्क आफैँले पनि खेलका क्रममा स्टम्प माइकमा ‘स्निकोलाई बर्खास्त गरिनुपर्छ’ भनेको सुनिएको थियो।

आईसीसीले हाल दुईवटा आवाज पहिचान गर्ने प्रविधिलाई मान्यता दिएको छ: अष्ट्रेलियामा प्रयोग हुने स्निको र विश्वका अन्य ठाउँमा प्रयोग हुने अल्ट्राएज।

अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ र वर्तमान कप्तान प्याट कमिन्सले पनि अष्ट्रेलियामा प्रयोग भइरहेको प्रविधि विदेशमा प्रयोग हुने भन्दा फरक र कहिलेकाहीँ विश्वास गर्न नसकिने खालको भएको बताएका छन्।

यद्यपि, जारी सिरिजको बीचमा प्रविधि परिवर्तन गर्न नमिल्ने भएकाले मेलबर्न र सिड्नी टेस्टमा पनि यही विवादित प्रविधि नै प्रयोग हुनेछ। इंग्ल्यान्ड र अष्ट्रेलियाका क्रिकेट बोर्डले यस विषयमा आईसीसीसँग छलफल गर्ने तयारी गरेका छन्।

पुष ७, २०८२ सोमबार १२:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।