छोरीको कुरा सम्झेर कार्यकर्तामाझ भक्कानिए गगन, सुनाए बानेश्वरमा डेरा नपाएकोदेखि खाटमा चोर सुतेकोसम्मको अनुभव

छोरीको कुरा सम्झेर कार्यकर्तामाझ भक्कानिए गगन, सुनाए बानेश्वरमा डेरा नपाएकोदेखि खाटमा चोर सुतेकोसम्मको अनुभव
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन-जी आन्दोलनका क्रममा आफ्नो घर जलाइएपछि भोगेका पीडादायी र अनौठा अनुभव कार्यकर्तामाझ बाँडेका छन्।

सोमबार धुम्बाराहीस्थित पार्टी प्यालेसमा कार्यकर्ता तथा शुभचिन्तकहरूसँगको अन्तरक्रियामा महामन्त्री थापाले ती दिन सम्झिँदा आँखाभरि आँसु पारे।

आन्दोलनको आक्रोश, घरमा भएको आगजनी र त्यसपछिको पारिवारिक विचलनलाई सुनाउँदै उनले देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको जिकिर पनि गरे ।

‘मेरो लुगा लगाएर मेरै खाटमा चोर मस्त निद्रामा थियो’
महामन्त्री थापाले रातोपुलस्थित आफ्नो घरमा आगजनी भएको तेस्रो दिनको एउटा अनौठो घटना सुनाए। आगजनीपछि ध्वस्त भएको घरमा पुग्दा उनले आफ्नो शयनकक्षमा एक अपरिचित व्यक्तिलाई सुतिरहेको भटेका थिए।

‘आन्दोलन भएको तेस्रो दिन घरमा पुग्दा एउटा चोर त मेरो लुगा लगाएर मेरै खाटमा सुतिराखेको थियो,’ थापाले भने, ‘कहाँबाट आयो यो भनेर सोध्दा त पहिलो दिनमा लुगासुगा चोरेर गएको रहेछ। अरु केही बाँकी छ कि भनेर फेरि आएको रहेछ। आएपछि एकछिन सुत्न मन लाग्यो रे, यसो सुतेको त निदाएछ।’

उनले ती व्यक्तिलाई साथीहरूले त्यहीँबाट पक्राउ गरेर जिम्मा लगाएको बताए।

डेरा माग्दा ‘पानी आउँदैन’ भनेर टारियो
भदौ २४ गते घर जलाइएपछि आफू र आफ्नो परिवार घरविहीन भएको र काठमाडौंमै डेरा पाउनसमेत मुस्किल परेको तीतो अनुभव उनले पोखे। सुरक्षा र राजनीतिक कारण देखाउँदै घरबेटीहरूले कोठा दिन नमानेको उनको गुनासो थियो।

‘बानेश्वरमा साथीहरूले डेरा खोजेका थिए, घरबेटीले सुरुमा हुन्छ-हुन्छ भन्नुभएछ । तर, पछि को बस्ने भनेर सोध्दा मेरो नाम आएपछि कुरा फेर्नुभयो,’ थापाले सुनाए, ‘पहिला कोठा छ भनेको मान्छेले पछि त यहाँ पानी आउँदैन भनेर पठाइदिनु भएछ। हाम्रो हालत त त्यो थियो।’

बानेश्वरमा डेरा नपाएपछि आफू अहिले बुढानीलकण्ठको चपलीमा श्रीमतीको माइती पक्षको भाइटीका लगाउने दाइको खाली घरमा बसिरहेको उनले जानकारी दिए। रातोपुलको घर पुनर्निर्माण हुन समय लाग्ने र बनेपछि मात्रै सर्ने उनले बताए।

छोरीको प्रश्नले भक्कानिए गगन
सम्बोधनका क्रममा महामन्त्री थापा सबैभन्दा बढी भावुक तब भए, जब उनले आफ्नी छोरीको मनोदशा सुनाए। घर छोड्नुपरेपछिको त्रास आजसम्म पनि परिवारमा रहेको उनले बताए।

‘घर जलेपछि मेरी छोरी छोरी साथीको घरमा बस्न गएकी थिइन्। त्यहाँ गएर सुत्दा उनलाई त्यहाँ बिहान उठ्नै नपरे हुन्थ्यो भन्ने लागेछ,’ थापाले आँखाभरि आँसु पार्दै भने, ‘यो कुरा घरमा आएर सुनाइन्। अहिले छोरीहरूको एउटै अनुरोध छ- बाबा अब चाहिँ हामी घरबाट नभाग्ने है!’

आफ्नो व्यक्तिगत पीडालाई राजनीतिक परिदृश्यसँग जोड्दै थापाले देशलाई उत्तेजनाले नभई संयमताले चलाउनुपर्ने बताए। उनले बंगलादेशको उदाहरण दिँदै देश युद्धमा फस्न सक्ने खतरा औंल्याए।

‘उत्तेजनामा ल्याउन सहज हुन्छ, तर सम्हाल्न गाह्रो हुन्छ । बंगलादेश फेरि युद्धमा फस्दैछ । हामी पनि बीचबीचमा यस्तो अवस्था बेहोर्दै आएका छौँ’, उनले भने।

माओवादी सशस्त्र द्वन्द्वका बेला कांग्रेस कार्यकर्ताले योभन्दा ठूलो पीडा भोगेको स्मरण गर्दै उनले जस्तोसुकै अवस्थामा पनि देश कांग्रेसले नै सम्हाल्नुपर्नेमा जोड दिए।

‘कांग्रेस भनेको राष्ट्रिय शक्ति हो, र राष्ट्रिय शक्ति चुनावले निर्धारण गर्छ’, उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने।

पुष ७, २०८२ सोमबार ०९:५८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।