राजेश बज्राचार्यले यती समूहसँग घर लिएको ओलीद्वारा स्वीकार, भ्रष्टाचार नगरेको दाबी

राजेश बज्राचार्यले यती समूहसँग घर लिएको ओलीद्वारा स्वीकार, भ्रष्टाचार नगरेको दाबी

काठमाडौं : यती समूहको कम्पनी तारा एयरको नाममा रहेको घर आफ्नो स्वकीय सचिव राजेश बज्राचार्यले लिएको विषय एमाले अध्यक्ष केपी ओलीले स्वीकार गरेका छन्।

हिमालय टिभीको ‘यक्ष प्रश्न’मा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा उनले यतीको घर बज्राचार्यले लिएको स्वीकार्दै त्यो भ्रष्टाचारको नभएको दाबी गरे।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा तारा एयरको नाममा बालकोटमा रहेको कोलोनीको घर ९६ लाख मूल्याङ्कन गरेर राजेशको श्रीमतीको नाममा पास गरेको खुलेकोबारे उकेराले खुलासा गरेको थियो।

जग्गा नामसारी गरे पनि घर जग्गा किने बापत राजेश, उनको श्रीमती र तारा एयरबीच रकम लेनदेन भएको नखुलेपछि सीआईबीले त्यसलाई घुस बापत पाएको घर रहेको शंका गर्दै अख्तियारबाट छानबिन गर्न सिफारिस गरेको थियो।

यती समूहको कम्पनीबाट घर किनेको र घर किने बापत बैंकबाट रकम लेनदेन नभएको बारे ओलीको टिप्पणी थियो- ‘के यतीसँग घर किन्न हुन्न र?, अनि बैंकबाट गएको पैसा देखिएन रे, दुई-चार लाख गरेर नगदै दिन सकिन्न र!’

उनले राजेश बाल्यकालदेखि नै आफूसँग हुर्किएको बच्चा भएको र उसले बदमासी गर्नै नसक्ने भन्दै आफूलाई मुछ्न राजेशमाथि आरोप लगाएको उनको दाबी थियो।

नक्कली भुटानी शरणार्थी घटनामा जबरजस्ती नाम लिन लगाएर फसाउन खोजेको दाबी गर्दै उनले वर्तमान सरकार आफूसँग जोडिएकोलाई दु:ख दिन लागेको भन्दै छानबिन गर्न चुनौती दिए।

‘छानामा पानी हाले मलाई बाछिटा पर्ला भनेर प्रयास गरेका हुन्। त्यस्तो केही लागे छानबिन गरे भइगयो त’, उनले भने।

सीआईबीले बज्राचार्यको घटना छानबिनका लागि अख्तियार पठाउन भने पनि जिल्ला सरकारी वकिलको कार्यालयले भने यसबारे निर्णय नै नगरी पेन्डिङमा राखेको छ।

नेपाल इष्टका तत्कालीन दुई कर्मचारी र यतीको भगिनी संस्थाका अध्यक्ष विरुद्ध ठगीमा मुद्दा दायर भएको छ।

ओली यति विवादित सम्बन्ध
केपी ओलीको प्रधानमन्त्रीकालमा पर्यटन क्षेत्रमा सक्रिय रहेको यती होल्डिङस्ले नेपाल ट्रष्टको महत्त्वपूर्ण जग्गा र भवनहरू विवादित रूपमा पाएको थियो। गोकर्ण हुँदै यतीको कम्पनीले दरबारमार्गको जग्गा मल बनाउन सस्तोमा भाडामा पाएको थियो।

सम्झौता हुँदा नै विवादमा आएको सो घटनाबारे अख्तियारले छानबिन गरेर पनि प्रक्रिया अगाडि बढाएन। अख्तियारको प्रमुख आयुक्तमा ओलीनिकट प्रेम राई नै प्रमुख आयुक्त छन्।

ठगीमा सीआईबीले छानबिन सुरु गर्दा तारा एयर र बज्राचार्यबीच घर किनबेच भएको, तर रकम लेनदेन नभएको देखिएपछि सो घर नेपाल ट्रष्टको जग्गा भाडामा सस्तोमा दिलाउन सहयोग गरे बापतको घुस हुनसक्ने भन्दै छानबिन गर्न सिफारिस गरेको थियो।

सम्बन्धित समाचार:

पुष ७, २०८२ सोमबार ००:१८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।