‘परान’ हिट, चम्किए दीपक : स्क्रिप्ट रोज्ने फुर्सद छैन
काठमाडौं : व्यावसायिक सफलता हात पारेपछि फिल्म ‘परान’को निर्माण पक्ष यतिबेला उत्साहित बनेको छ। प्रदर्शनको ५१ औँ दिन मनाएपछि फिल्मका कथाकार तथा निर्देशक दीपक आचार्य (काकु) सफलताले थप हौसिएका छन्।
उनी मात्र होइन, वरिष्ठ अभिनेता नीर शाह पनि गद्गद् देखिएका छन्। लामो अभिनय यात्रामा थुप्रै हिट फिल्म दिएका शाहले ‘परान’को कथावस्तु र व्यावसायिक उपलब्धिलाई आफ्नो करियरकै एउटा महत्त्वपूर्ण ‘टर्निङ पोइन्ट’का रूपमा अर्थ्याएका छन् ।
फिल्ममा मुख्य भूमिका निर्वाह गरेका महेश त्रिपाठी, अञ्जना बराइली, प्रवीण खतिवडा र केकी अधिकारी लगायतका कलाकारहरू पनि फिल्मको अभूतपूर्व सफलताबाट हौसिएका छन्। व्यावसायिक रूपमा ‘परान’ यो वर्षकै सर्वाधिक कमाउने फिल्म बनेको छ भने नेपाली चलचित्र इतिहासमा धेरै कमाउने फिल्मको सूचीमा चौथो स्थान सुरक्षित गरेको छ।
चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार परानले १७ करोड ५५ लाख रुपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेको छ। नेपाली फिल्मको सर्वकालीन कमाइको सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’ (४६ करोड ८७ लाख) पहिलो, ‘कबड्डी ४’ (२१ करोड ४० लाख) दोस्रो र ‘१२ गाउँ’ (१९ करोड ९२ लाख) तेस्रो स्थानमा रहेका छन्।
व्यावसायिक सफलतासँगै निर्माण पक्षले सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ। प्रदर्शनको ५१औँ दिनको अवसरमा शनिबार बुढानीलकण्ठस्थित ‘पवित्र समाजसेवा नेपाल’मा आश्रित ६५ जना अनाथ तथा वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गरिएको छ।
असफलतादेखि सफलतासम्म
निर्देशक आचार्यको निर्देशकीय यात्रा भने निकै उतारचढाव देखिन्छ। वि.सं. २०७२ मा उनले टिएन आचार्यसँग मिलेर फिल्म ‘श्री ५ अम्बरे’ निर्माण गरेका थिए। सौगात मल्ल, केकी अधिकारी र प्रियंका कार्की जस्ता स्थापित कलाकारहरू रहँदा पनि उक्त फिल्मले व्यावसायिक सफलता पाउन सकेन, जसका कारण उनले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्यो।
त्यसपछि उनले टेलिभिजन पर्दामा ‘भद्रगोल’ र ‘सक्किगोनी’ जस्ता हास्य टेलिशृङ्खलामार्फत आफूलाई ‘काकु’ पात्रको रूपमा स्थापित गराए। क्रमशः उनी म्युजिक भिडियो निर्देशनतिर हात बढाए। केही सफल भए, केही असफल। टेलिशृङ्खलाकै टिमसँग मिलेर फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा हुँदा उनको निर्माण टिमसँग मतभेद रह्यो। उचित श्रेय नपाएपछि आचार्यले आफ्नै निर्देशनमा फिल्म बनाउने सङ्कल्पका साथ ‘परान’ बोर्डमा दर्ता गराए। त्यही सङ्कल्प र मिहिनेतले उनलाई अहिले वर्षकै सफल निर्देशकको रूपमा उभ्याएको छ ।
लगानीकर्ताको आकर्षण
परालको सफलतापछि यतिबेला दीपक आचार्यको हातमा फिल्मको स्क्रिप्टका चाङ लागेका छन्। हिजोका दिनमा लगानीकर्ता खोज्न संघर्ष गरेका आचार्यका लागि अहिले लगानी गर्नेहरूको घुइँचो लाग्न थालेको छ।
‘परान’का लागि लगानीकर्ता जुटाउन उनले भोग्नुपरेको सास्ती र संघर्ष आचार्यको स्मृतिमा अझै ताजा छ। यद्यपि, समयको चक्र बदलिएको छ; हिजो लगानीकर्ताको खोजीमा भौँतारिने उनीमाथि लगानी गर्न चाहनेको ताँती छ। अहिले उनको हातमा ५ भन्दा बढी उत्कृष्ट स्क्रिप्टहरू छन्। पहिलो निर्देशकीय फिल्म ‘परान’ले प्रदर्शनको ५१औँ दिनको सुखद कोशेढुङ्गा पार गरेसँगै आचार्य अब नयाँ जोसका साथ दोस्रो फिल्मको तयारीमा जुटेका छन्।
उनी भन्छन्, “आफूले काम गरेको फिल्मले ५१ दिन पार गरेपछि, दर्शकको चाम हलमा अझै उस्तै छ। तर मैले आफूले भन्न खोजेको कथा ६० प्रतिशत पनि भन्न सकेको थिइनँ। त्यो समयमा खर्चको अभाव पनि भो। दर्शकलाई निराश नहुने कथा भन्नु पर्ने बाध्यता छ। अहिले त्यसैमा जुटेको छु। सायद छिट्टै घोषणा गरिन्छ होला। तर निर्माणमा हतार गर्दिन।”
पुष ६, २०८२ आइतबार १४:३१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।