हानिकारक प्रथा हटाउँदै मौलिक संस्कृति जोगाउनुपर्छ : प्रधानमन्त्री कार्की

हानिकारक प्रथा हटाउँदै मौलिक संस्कृति जोगाउनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्।

संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुनेमा जोड दिइन्। तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले उक्त कुरा बताएकी हुन्।

परिषद्का प्रतिनिधिहरू गुरुङ संस्कृतिअनुरूपका परम्परागत वेशभूषामा उपस्थित भएकी थिइन्। उनीहरूको वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा व्यक्त गरिन्।

'कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन्। आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सँदै गएको पाइन्छ। आफ्नो पहिचान नै के हो भन्ने उनीहरूलाई थाहा छैन। तर हामी नेपालीसँग प्रशस्त आफ्नोपन छ। विविध मौलिक संस्कृति र परम्परा छ। यो जोगाउनुपर्छ। बरु सरकारी कार्यालयमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?,' प्रधानमन्त्री कार्कीले भनिन्।

पुष ६, २०८२ आइतबार १३:०६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।