भारतको विश्वकप टोलीबाट उपकप्तान गिल बाहिरिँदा भित्रिए इसान र रिंकु
एजेन्सी : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सन् २०२६ को आइसिसी पुरुष टी-२० विश्वकपका लागि आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरेको छ। सन् २०२४ मा दक्षिण अफ्रिकालाई हराएर विश्व विजेता बनेको भारत यस पटक 'साबिक विजेता'को हैसियतमा आफ्नै घरेलु मैदानमा उपाधि रक्षा गर्न उत्रनेछ।
अजित अगरकरको नेतृत्वमा रहेको चयन समितिले शनिबार मुम्बईमा गरेको घोषणाको सबैभन्दा ठूलो समाचार शुभमन गिलको बहिर्गमन बनेको छ। हालसम्म टोलीको उपकप्तानको भूमिकामा रहेका गिल खराब लयका कारण टोलीमा स्थान बनाउन असफल भएका छन्। गिलको स्थानमा अनुभवी अलराउन्डर अक्षर पटेललाई पुनः उपकप्तानको जिम्मेवारी सुम्पिएको छ।
इसान र रिंकुको पुनरागमन
करिब दुई वर्षको अन्तरालपछि आक्रामक विकेटकिपर ब्याटर इसान किशनले राष्ट्रिय टोलीमा सानदार पुनरागमन गरेका छन्। हालै सम्पन्न सय्यद मुश्ताक अली ट्रफीको फाइनलमा १०१ रनको विष्फोटक पारी खेलेका इसानले जितेश शर्मालाई विस्थापित गर्दै टोलीमा ठाउँ बनाएका हुन्। यसअघि घरेलु क्रिकेट छोडेर आइपिएललाई प्राथमिकता दिएको विवादका कारण उनी टोली बाहिर रहँदै आएका थिए। त्यस्तै, विष्फोटक 'फिनिसर' रिंकु सिंहले पनि टोलीमा पुनः स्थान पाएका छन्।
मुख्य चयनकर्ता अगरकरका अनुसार संजु सामसन टोलीको मुख्य विकेटकिपर रहनेछन् र उनले अभिषेक शर्मासँगै पारीको सुरुवात (ओपनिङ) गर्नेछन्। यो जोडी पछिल्लो समय निकै सफल देखिएको छ। यस्तै, यस पटक प्रतियोगिता भारतमै हुने भएकोले कुनै पनि 'स्ट्यान्डबाई' (वैकल्पिक) खेलाडी नराख्ने निर्णय बीसीसीआई सचिव देवजीत सैकियाले जानकारी दिएका छन्।
विश्वकप २०२६ का लागि भारतीय टोली:
सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल (उपकप्तान), अभिषेक शर्मा, संजु सामसन (विकेटकिपर), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, जस्प्रित बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वासिङ्टन सुन्दर र इसान किशन (विकेटकिपर)। यो टोलीले विश्वकप अघि आगामी जनवरीमा न्युजिल्याण्ड विरुद्ध हुने टी-२० शृङ्खला पनि खेल्नेछ।
पुष ५, २०८२ शनिबार १७:५०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।