रविले आफैँले स्विकारेको नागरिकता मुद्दालाई 'झुटो' दाबी गरे, दोहोरो राहदानीको विचाराधीन मुद्दामा मौन
काठमाडौं : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा भविष्यमा दोषी ठहरिए बिगो सकार्ने गरी निवेदन दिएर शुक्रवार धरौटीमा थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै फैसला भएको नागरिकता मुद्दालाई समेत 'झुटो' दाबी गरेका छन्।
शुक्रवार बेलुका बिगो वापतको बैंक ग्यारेन्टी सनाखत गरेर थुनामुक्त भएका उनी शनिवार चितवन पुगेर चौबिसकोठीमा आयोजित कोणसभालाई सम्बोधन गरेका थिए। सम्बोधनमा निकै आक्रामक देखिएका उनले सहकारी ठगीका मुद्दाहरूलाई झुटो भएको दाबी गर्दैगर्दा, आफूले अदालतको फैसला स्वीकार गरी पुनः सक्रिय गराएको नागरिकताको विषयलाई समेत झुटो मुद्दाको संज्ञा दिए।
नेपालको नागरिकता कायमै राखेर अमेरिकी नागरिक बनेका उनी, नेपालमा नाता भिसामा आएर राजनीतिमा सक्रिय भए पनि त्यागेको नेपाली नागरिकता सक्रिय गराएका थिएनन्। नागरिकता सक्रिय नगराई दल खोलेर अध्यक्ष हुँदै चितवन-२ बाट प्रतिनिधिसभा सदस्य र उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत बनेका थिए।
निर्वाचन प्रचारकै क्रममा उकेराले पहिलो पटक लामिछानेको नागरिकता निष्क्रिय रहेको प्रमाणसहित समाचार सार्वजनिक गरेको थियो। विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः कायम नरहने र विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता सक्रिय गराउन सम्बन्धित जिल्ला प्रशासनमा निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ। तर, उनी अमेरिकी नागरिक हुँदा पनि नेपाली नागरिकता नत्यागी त्यसैको प्रयोग गरिरहेका थिए।
यसबारे समाचारहरू निरन्तर प्रकाशित भए पनि लामिछानेले अस्वीकार गर्दै आएका थिए। तर, उनको नागरिकतामाथि कानुनी प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएपछि संवैधानिक इजलासले उनले अमेरिकी नागरिक बन्दा नेपाली नागरिकताको वैधानिकता गुमाएको र कानुनी प्रक्रिया पूरा नगरी पुरानै नागरिकता प्रयोग गरेको ठहर गरेको थियो।
अदालतको उक्त फैसलालगत्तै उनको रास्वपा सभापति र सांसद पदसँगै मन्त्री पद पनि गुमेको थियो। त्यसपछि मात्र उनले प्रक्रिया पूरा गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आफ्नो नागरिकता पुनः प्राप्त गरेका थिए।
@ukeraa उकेरामा रविबारे प्रकाशित समाचारबारे उनको प्रतिक्रिया #ravilamichhane #ukeraa ♬ original sound - Ukeraa News
नागरिकता पुनः प्राप्त गरेर चितवन-२ को उपनिर्वाचनमार्फत उनी पुनः सांसद र गृहमन्त्री बनेका थिए। तत्कालीन समयमा पत्रकार सम्मेलन गर्दै उनले नागरिकताको विषयमा प्रमाणसहित लेखेको भन्दै समाचारको प्रशंसा समेत गरेका थिए। तर, शनिवार उनले आफ्नै विगतको गल्तीलाई 'झुटो मुद्दा' भन्दै टिप्पणी गरे। चौबिसकोठीमा उनले भने, "नागरिकताको झुटो मुद्दामा मलाई झन्डै अनागरिक बनाएर मन्त्री र सांसद पद समेत खोसेका थिए।"
दोहोरो राहदानीबारे मौन, सहकारी ठगीमा पुरानै अडान
लामिछानेमाथि निष्क्रिय नागरिकताका आधारमा नेपाली राहदानी बनाएको 'दोहोरो राहदानी' सम्बन्धी मुद्दा समेत थियो। राहदानी कसुर प्रमाणित भएमा सक्रिय राजनीतिमा संलग्न हुन नपाउने कानुनी व्यवस्था छ। तर, तत्कालीन पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत दिने सर्तमा महान्यायाधिवक्ताको कार्यालयले उनको राहदानी मुद्दा नचलाउने निर्णय गरेको थियो।
महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ, जुन हाल संवैधानिक इजलासमा विचाराधीन छ। यसबारे भने उनी शनिबारको सभामा मौन रहे।
सहकारी ठगीको सन्दर्भमा भने उनले आफूलाई फसाइएको पुरानै दाबी दोहोर्याए। उनी विरुद्ध गोर्खा मिडिया नेटवर्कको सञ्चालक हुँदा सूर्यदर्शन (पोखरा), स्वर्णलक्ष्मी (काठमाडौं), सहारा (चितवन), सुप्रिम (बुटवल) र सानोपाइला (वीरगन्ज) सहकारीको रकम अपचलन गरेको अभियोगमा विभिन्न अदालतमा मुद्दा चलिरहेका छन्। हाल उनी यी सबै मुद्दामा धरौटीमा मुक्त भए पनि मुद्दाहरू विचाराधीन नै छन्।
पुष ५, २०८२ शनिबार १४:१६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।