अर्जुननरसिंह केसीद्वारा चुनाव नलड्ने घोषणा, ४५ वर्षे चुनावी यात्रामा पूर्णविराम

अर्जुननरसिंह केसीद्वारा चुनाव नलड्ने घोषणा, ४५ वर्षे चुनावी यात्रामा पूर्णविराम

काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गरेका छन्।

२०३८ सालदेखि निरन्तर नुवाकोटबाट चुनावी मैदानमा उत्रिँदै आएका केसीले यसपटक प्रत्यक्ष निर्वाचनको दौडबाट बाहिरिने निर्णय लिएका हुन्।

पार्टीका नेता तथा कार्यकर्ताहरूले उनलाई क्षेत्रबाट उम्मेदवार सिफारिस हुन आग्रह गरे पनि केसीले त्यसलाई अस्वीकार गरेका छन्।

उनले अघिल्लो निर्वाचनमै ‘अन्तिम पटक’ भन्दै जनतासँग भोट मागेकाले अब पुनः उम्मेदवार बन्नु नैतिक रूपमा सही नहुने बताएका छन्।

केसीको यो निर्णयसँगै नुवाकोटको राजनीतिमा उनको ४५ वर्षे प्रत्यक्ष चुनावी यात्रामा पूर्णविराम लागेको छ।

उनी २०३८ सालमा पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। २०४३ सालमा पराजित भए पनि सोही निर्वाचन लगत्तै उनी जिल्ला पञ्चायत सभापति बनेका थिए।

बहुदल पुनर्स्थापनापछि २०४८ सालयता भएका ६ वटा संसदीय निर्वाचनमा उनी निरन्तर उम्मेदवार बन्दै आएका थिए।

लामो राजनीतिक अनुभव संगालेका केसीले अब सक्रिय संसदीय राजनीतिबाट विश्राम लिँदै अभिभावकीय भूमिकामा रहने संकेत गरेका छन्।

पुष ५, २०८२ शनिबार १२:२२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।