जेफ्री एस्टिन काण्ड : सात जना युवतीहरूको काखमा प्रिन्स एन्ड्रयू, एस्टिनको बेडरुम र मसाज कोठामा गोप्य क्यामेरा
एजेन्सी : अमेरिकी अर्बपति तथा यौन अपराधी जेफ्री एस्टिनको ‘सेक्स स्क्यान्डल’ सँग सम्बन्धित तीन लाखभन्दा बढी गोप्य दस्तावेज र तस्बिरहरू अमेरिकी जस्टिस डिपार्टमेन्टले शुक्रबार राति सार्वजनिक गर्यो।
नेपाली समयअनुसार शुक्रबार राति पौने ३ बजे सार्वजनिक गरिएका यी फाइलहरूमा एस्टिनको विलासिता, यौन शोषणको जालो र विश्वका शक्तिशाली व्यक्तिहरूसँगको उनको सम्बन्धलाई उदाङ्गो पार्ने तस्बिरहरू समावेश छन्।
कुल ३ हजार ५०० भन्दा बढी फाइलहरू ४ वटा सेटमा र पछि थप १ सेट गरी सार्वजनिक गरिएको हो। अत्यधिक मानिसले हेर्दा जस्टिस डिपार्टमेन्टको वेबसाइट नै केही समय ‘डाउन’ भएको थियो।
एस्टिनको बेडरुम र मसाज कोठामा क्यामेरा
सार्वजनिक भएका तस्बिरहरूले एस्टिनले आफ्ना पीडितहरू र पाहुनाहरूको जासुसी गर्ने गरेको खुलासा गरेको छ।
एस्टिनको भिल्लाका बेडरुम र मसाज कोठामा गोप्य क्यामेराहरू जडान गरिएको पाइएको छ। सार्वजनिक तस्बिरमा बेडरुमको कुनामा क्यामेरा स्पष्ट देखिन्छ।

अनुसन्धानका अनुसार यी क्यामेराहरू पीडित युवतीहरू र हाइ-प्रोफाइल पाहुनाहरूको गतिविधि रेकर्ड गर्न र पछि ‘ब्ल्याकमेल’ गर्न प्रयोग गरिन्थ्यो।
मसाज रुमका तस्बिरहरूमा धेरै आपत्तिजनक वस्तुहरू र ‘बेबी मसाज ट्रेनिङ’का निर्देशिकाहरू समेत देखिएका छन्, जसमा अश्लील प्रक्रियाहरू समेत उल्लेख छ।
बिल क्लिन्टनका नयाँ र विवादास्पद तस्बिरहरू
जस्टिस डिपार्टमेन्टले सार्वजनिक गरेको तस्बिरहरू पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनका धेरै तस्बिरहरू छन्।
क्लिन्टन स्विमिङ पुलमा दुई युवतीहरूसँग नुहाउँदै गरेको र ‘हट टब’ मा एक महिलासँग देखिएका छन्। तस्बिरमा महिलाको अनुहार छोपिएको छ।

एस्टिनको घरमा क्लिन्टनको एउटा पेन्टिङ पनि फेला परेको छ, जसमा क्लिन्टनले आफ्नी पूर्व सेक्रेटरी मोनिका लेविन्स्कीको जस्तो निलो ड्रेस लगाएको देखाइएको छ।
क्लिन्टनका प्रवक्ता एन्जेल उरेनाले भने यी तस्बिरहरू २० वर्ष पुराना भएको र क्लिन्टनलाई एस्टिनको अपराधबारे कुनै जानकारी नभएको भन्दै बचाउ गरेका छन्।
बेलायती राजकुमार एन्ड्रयू र अन्य सेलिब्रेटी
विभागले सार्वजनिक गरेको विवरणमा बेलायती राजकुमार एन्ड्रयूको निकै आपत्तिजनक तस्बिर बाहिर आएको छ।
उनी सात जना युवतीहरूको काखमा सुतेको तस्बिर देखिन्छ। तस्बिरमा एस्टिनकी प्रेमिका घिसलेन म्याक्सवेल पनि देखिएकी छिन्।

पप स्टार माइकल ज्याक्सन, हलिउड अभिनेता केविन स्पेसी, क्रिस टकर, र ओप्रा विन्फ्रे एस्टिन वा क्लिन्टनसँग देखिएका छन्।
डेमोक्र्याट सांसदहरूले सार्वजनिक गरेको अर्को ६८ तस्बिरको सेटमा अर्बपति बिल गेट्स पनि एक महिलासँग देखिएका छन्। गुगलका सह-संस्थापक सर्गेई ब्रिन र फिल्ममेकर वुडी एलेन पनि तस्बिरमा देखिएका छन्।
डोनाल्ड ट्रम्प: चेन्जिङ रुम काण्ड र एस्टिनको इमेल
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर एल्बममा भेटिए पनि उनीमाथि कुनै आपराधिक आरोप छैन। तर, दस्तावेजमा केही गम्भीर प्रसंगहरू छन्।
एक पीडितले सन् १९९७ को ‘मिस टिन युएसए’ प्रतियोगिताका क्रममा ट्रम्प जबर्जस्ती किशोरीहरूको चेन्जिङ रुममा छिर्ने गरेको बयान दिएकी छिन्। त्यतिबेला केही किशोरीहरू १५ वर्षका मात्र थिए।

एस्टिनले आत्महत्या गर्नुअघि सन् २०१९ मा आफैँलाई लेखएको एक इमेलमा ‘ट्रम्पलाई मेरा गतिविधिबारे थाहा थियो र उनी अक्सर मेरो पाम बिचको घरमा आउँथे’ भन्ने दाबी गरेका थिए।
पीडितहरूको असन्तुष्टि र १२ सय नाम गोप्य
न्याय विभागले ‘एस्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट’ अन्तर्गत यी दस्तावेज सार्वजनिक गरे पनि पीडितहरू सन्तुष्ट छैनन्। पीडितहरूले विभागले मुख्य अपराधी र मतियारहरूको नाम अझै लुकाएको आरोप लगाएका छन्।
![]()
डिप्टी एटर्नी जनरल टड ब्लांशका अनुसार १२०० भन्दा बढी व्यक्तिको नाम र पहिचान मेटाइएको छ। यसमा पीडित र अनुसन्धान प्रभावित हुन सक्ने व्यक्तिहरू छन्।
यसका अतिरिक्त अन्य महत्त्वपूर्ण खुलासाहरू पनि भएका छन्। स्टिनको दराजमा इजरायली सेनाको स्वेटशर्ट भेटिएको छ भने एस्टिनले एक फोटोग्राफरलाई तस्बिरहरू बाहिर ल्याए घर जलाइदिने धम्की दिएको खुल्यो।

एस्टिनले केटीहरू १८ वर्ष मुनिको भएको सुनिश्चित गर्न उनीहरूको आईडी कार्ड माग्ने गरेको नोट फेला परेको छ भने एस्टिनको कोठामा पोप जोन पल द्वितीयको तस्बिर पनि थियो।

जेफ्री एस्टिनले सन् २०१९ मा जेलभित्रै आत्महत्या गरेका थिए भने उनकी सहयोगी घिसलेन म्याक्सवेल हाल २० वर्षको जेल सजाय काटिरहेकी छिन्।
यी सार्वजनिक दस्तावेजहरूले विश्वका शक्तिशाली व्यक्तिहरूको एस्टिनसँगको हिमचिमलाई थप रहस्यमय बनाएको छ।
पुष ५, २०८२ शनिबार १०:५३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।