मनी ट्रान्सफरको आवरणमा हुन्डी : गम्भिर अपराधमा सिआइबीको अनुसन्धान सुस्त, राष्ट्र बैंक बुझ्दै

मनी ट्रान्सफरको आवरणमा हुन्डी : गम्भिर अपराधमा सिआइबीको अनुसन्धान सुस्त, राष्ट्र बैंक बुझ्दै

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु म्यानेजमेन्टमा भएको अनियमितताको अनुसन्धानमा प्रभु मनी ट्रान्सफर प्रालिको खातामा हुन्डी हुँदै भारतबाट नेपाल भित्रिएको रकम जम्मा हुने गरेको नयाँ प्रमाण फेला पार्यो।

प्रमाण पछ्याउँदै सिआइबीले भारतबाट अवैध रूपमा लुकाएर नेपाली रुपैयाँ नेपाल भित्र्याएर प्रभु मनी ट्रान्सफरको खातामा राख्न सक्रिय रामबाबु प्रसाद जयसवाल पक्राउ परेपछि उनको बयानमा ६ वर्षको बिचमा ९२ करोड रुपैयाँ हुन्डी हुँदै नेपाल भित्रिएको खुल्यो। त्यसमध्ये ६ करोड रकम प्रभुको खातामा जम्मा भएको खुले पनि ८६ करोड रकम कहाँ जम्मा भयो खुलेको छैन।

जयसवालको बयानमा उनले भारतमा रहेका अर्का व्यक्ति हरिस जयसवालले पाँच सय र एक हजार दरका नेपाली रुपैयाँ दिने र आफूले सो रकम मोटरसाइकलको डिक्कीमा लुकाएर नेपाल भित्र्याएपछि हरिसले ह्वाट्सएपमा जुन जुन कम्पनी र व्यक्तिको खाता नम्बर पठाउँछन् त्यही खातामा जम्मा गर्ने गरेको खुलाए।

उनले खुलाएका नामहरूमा साना मनी ट्रान्सफरदेखि इसेवा मनी ट्रान्सफर र आइएमइ मनी ट्रान्सफरसम्मको नाम छ। जयसवालको बयान अनुसार एक लाख नेपाली रुपैयाँ नेपाल ल्याएर ती कम्पनीको खाताहरूमा जम्मा गरिदिएपछि उनले प्रति एक लाख २ सय ५० रुपैयाँ कमिसन पाउँदै आएका थिए। ६ वर्षको अवधिमा उनले कमिसनबापत २४ लाख पाएको बयानमा खुलाएका छन्। उनले पाएको कमिसनको रकमसँग उनले नेपाल भित्र्याएको रकमको तुलना गर्दा ९२ करोड निस्किन्छ।

नेपालमा रेमिटेन्समा प्रभु मनी ट्रान्सफरपछि सबैभन्दा सक्रिय भनेको आइएमइ र इसेवा नै हुन्। यी दुवै कम्पनी समेत हुन्डीमा जोडिएपछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धानमा छ। मनी ट्रान्सफरको आवरणमा हुन्डीमार्फत कालोधन बैङ्किङ च्यानलमा भित्रिएको भन्दै नेपाल राष्ट्र बैंकले आन्तरिक मनी ट्रान्सफरमा कडाइ गरे पनि हुन्डीमार्फत आएको रकम बैङ्किङ च्यानलमा मिसिएको घटना पटक पटक सार्वजनिक हुने गरेका छन्।

गत वैशाखमा प्रहरीले यस्तै शैलीले नेपालमा १७ अर्ब ८६ करोड भित्र्याएर बैङ्किङ च्यानलमा फैलाउन संलग्न रहेको भन्दै २१ जनालाई पक्राउ गरेको थियो। तर ती अधिकांश कमिसनको लोभमा काम गर्ने तल्ला तहका एजेन्टहरू थिए। उनीहरूले अवैध रूपमा नेपाल भित्रिएको रकम सजिलो पे र पेवेल नामका डिजिटल वालेटको खातामा राखेर उनीहरूमार्फत विभिन्न व्यक्तिको बैंक खातामा पठाउने गरेको खुल्यो। यो घटनाको सिआइबीले नै अनुसन्धान गरेको थियो। त्यसमा राष्ट्र बैंकले कार्वाही गर्दै यी दुबै कम्पनीको लाइसेन्स नै खारेज गरेको थियो। अहिले प्रभुसँगै इसेवा र आइएमइ जोडिएको घटनाको शैली पनि यस्तै नै हो।

कालोधन नियन्त्रणमा नेपालले उल्लेखनीय काम नगरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई उच्च जोखिम भएको देश ठहर गर्दै ग्रे लिस्टमा राखेको छ। यसको अन्य कारकहरूमध्ये हुन्डी नियन्त्रणमा भएको असफलता पनि हो। तर यती गम्भीर अपराधको अनुसन्धानमा जुन रफ्तार देखिनुपर्ने हो सिआइबीको गति भने सुस्त देखियो।   यसबारे उकेराले नेपाल राष्ट्र बैंक र सिआइबी दुबैका प्रवक्तासँग जिज्ञासा राख्दा अनुसन्धान जारी रहेको र समन्वय भइरहेको बाहेक ठोस जवाफ आएन।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिव कुमार श्रेष्ठले गत मंसिर २२ गते उकेरासँग कुरा गर्दै वालेट कम्पनीहरूको पनि नाम पोलिएकोले अनुसन्धान सूक्ष्म तवरले भइरहेको बताएका थिए। सिआइबीले गत मंसिर २२ गते नै अनुसन्धान वालेट कम्पनी केन्द्रित भएको बताए पनि हालसम्म वालेट कम्पनीसँग औपचारिक सोधपुछ गरेको छैन।

उनले मंसिर २२ गते उकेरासँग भनेका थिए ‘यो प्रकरणमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन पनि आकर्षित हुने भएकाले हामीले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरेका छौँ। ठुला भनिएका वालेट कम्पनी र व्यक्तिहरूको खातामा शङ्कास्पद रकम देखिएकाले अनुसन्धानको दायरा फराकिलो बनाइएको छ।’

शुक्रवार अनुसन्धानको अवस्थाबारे जिज्ञासा राख्दा उनले अनुसन्धानकै चरणमा रहेको बताए।

उनले उकेरासँग भने, “हामी अहिले पनि अनुसन्धानकै चरणमा छौँ। हामीले अनुसन्धान गरिरहेका छौँ।”

यता राष्ट्र बैँक सूचना अधिकारी सुमन न्यौपानेले प्रहरीको अनुसन्धानकै क्रममा रहेकाले थप जानकारी दिन नमिल्ने बताए। राष्ट्र बैँकको सुपरभिजन विभागले उक्त विषयमा प्रहरी मार्फत जानकारी लिइरहेको र अवैध कारोबार नहोस् भनेर प्रत्येक दिन मूल्याङ्कन गर्नेसम्मको जानकारी दिए।

 “प्रहरीले गरिरहेको अनुसन्धानलाई हामीले समन्वय गरिरहेका छौँ। त्यसैले यस विषयमा धेरै बोल्न मिल्दैन। तर पनि केन्द्रीय बैँकको सुपरभिजन डिपार्टमेन्टले गैरकानुनी कारोबारको मूल्याङ्कन गर्ने गरेको छ। हाल अनुसन्धान भइरहेको छ त्यो विषयमा” उनले भने।

हुन्डीमा को-को संलग्न देखिए ?

प्रभुबारेको अनुसन्धानमा बारा कोहल्बी निवासी जयसवालले भारतबाट हुन्डीको रकम नेपाल ल्याउने र प्रभु मनी ट्रान्सफरको सिटिजन्स बैँकको खातामार्फत रकम बैङ्किङ च्यानलमा घुसाउने गरेको खुल्यो। अनि सिआइबीले जयसवाललाई पक्राउ गरेर बयान लिएको थियो। व्यूरोले लिएको बयानमा जयसवालले भारतबाट हुन्डी गरेर ल्याएको रकम ईसेवा मनी ट्रान्सफर प्रालि, सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लिमिटेड, जीएमई रेमिट प्रालि, पेवेल नेपाल प्रालि, आइपे रेमिट प्रालि, प्रभु म्यानेजमेन्ट, सजिलोपे पेमेन्ट सर्भिसेज प्रालि, जल्थल मनी ट्रान्सफर, रामप्रित मेमोरियल मनी ट्रान्सफर र एटी मनी ट्रान्सफरको खातामा जम्मा गर्ने गरेको खुलाएका थिए।

यसबाहेक उनले एन्ट्री भाइरस सप्लायर्स, अभियान्सु किराना पसल, बाबा डिबार इन्टरप्राइजेज, दुर्लभ ट्रेडर्स, मनीषा कुमारी साह, नेहा कुमारी साह, सुरज गन्गाई, मा ६३ छिन्नमस्ता इन्टरप्राइजेज, रिया ट्रेडर्स, आकाश इन्टरप्राइजेज, सद्गुरु ट्रेडर्स, ॐ ट्रेडर्स, सिटी मार्केट सर्भिसेज एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र गुल्सल गोला स्टोर्सलगायतका फर्म तथा व्यक्तिहरूको खातामा हुन्डीको रकम जम्मा गर्ने गरेका थिए।

प्रभु म्यानेजमेन्टका सञ्चालक अभियुक्त, अन्यमाथि के ? 

प्रभु म्यानेजमेन्टमा भएको आर्थिक अनियमितता सिआइबीको अनुसन्धानको केन्द्रमा थियो। तर प्रभु म्यानेजमेन्टको अनुसन्धान गर्दा त्यसमा प्रभु रेमिटेन्ससँगै अन्य मनी ट्रान्सहरु पनि तानिए। यसको मुख्य कारण प्रभु मनी ट्रान्सफरका लागि भारतबाट अवैध रूपमा नेपाल ल्याएर बैंक खातामा रकम जम्मा गर्नु थियो।

अनुसन्धानमा उनले प्रभुका लागि मात्रै हैन नेपालमा वैध रूपमा दर्ता भएका अन्य ठुला मनी ट्रान्सफरका खाताहरूमा पनि यसरी नै रकम जम्मा गर्ने गरेको खुल्यो। तर अभियोग पत्र लैजाँदा प्रभु म्यानेजमेन्टको मात्र गयो। ठगीको अभियोग पत्रमा हुन्डीको अभियोग पनि समेटियो।

हुन्डीको रकम राख्न प्रभु म्यानेजमेन्ट प्रालिको सिटिजन्स बैंकमा रहेको खाताको प्रयोग भएर ६ करोड रकम बैङ्किङ च्यानलमा फैलाएको देखेपछि त्यही आधारमा सञ्चालक देवी भट्टचन, कुसुम लामा समेतलाई हुन्डीमा प्रतिवादी बनाइयो।

अभियोग पत्रमा भारतबाट अवैध रूपमा नेपाली रुपैयाँ भित्र्याएर नियमन छल्न १० लाख रकम नपुर्याइ हरेक पटक ९ लाख ९९ हजार पाँच सय रुपैयाँ पटक पटक प्रयोग गरेको उल्लेख छ।

सिटिजन्समा रहेको खातामा रेमिट रकम भुक्तानी गर्ने एजेन्टहरूसँग रेमिट कारोबारको क्रममा डेबिट कारोबार मात्र हुनु पर्ने, इन्वार्ड रेमिट्यान्स कारोबारको क्रममा फरक फरक सिस्टमबाट आदान प्रदान हुने गरी सिस्टम अप्रेसनमा रहेको अवस्थामा सोही सिस्टमको दुरुपयोग गरेर हुन्डीको रकम राख्ने गरेको अभियोग पत्रमा देखिन्छ।

“इन्वार्ड रेमिट्यान्स नेपालमा भित्र्याउन अधिकार पाएको प्रभु मनी ट्रान्सफर प्रालिको सुपरएजेण्ट प्रभु इन्डियाका सुनिल मिश्र र प्रभु मनी ट्रान्सफर प्रालिका सञ्चालक देवी प्रकाश भट्टचनको मिलेमतोमा भारतबाट प्रभु मनी ट्रान्सफर प्रालिको नोस्ट्रो एकाउन्ट हुँदै प्रभु मनी ट्रान्सफर प्रालिमा जम्मा भई नेपालमा रेमिट बापतको रकम भुक्तानी गर्नको प्रभु म्यानेजमेन्ट प्रालिको खातामा प्राप्त हुनु पर्ने रकमको हिसाब मिलान गर्न नेपालमा रामबाबु प्रसाद जयसवाल समेतले जम्मा गरेको अवैध रकम सहकारीहरूलाई भुक्तानीको लागि प्रयोग गरेको” अभियोग पत्रमा उल्लेख छ।

नेपाल राष्ट्र बैंकबाट ईनवार्ड रेमिट्यान्स गर्ने अनुमति प्राप्त कम्पनी प्रभु मनी ट्रान्सफर प्रालिले नेपाल राष्ट्र बैंकबाट रेमिट कारोबार गर्न जारी भएका कानून, नीति, निर्देशन विपरीत नेपालमा रेमिट्यान्स बापत भित्र्याउनु पर्ने रकम नियम अनुसार नभित्र्याई गैरकानूनी रूपमा भारतबाट नेपाली रकम संकलन गरी पटक पटक जम्मा गरेर विप्रेषण बापत भित्र्याउनु पर्ने रकम वैधानिक रूपमा नेपालमा नभित्र्याई हुन्डी मार्फत भित्र्याएको भन्दै खुले अनुसार ६ करोड १० लाख ७ हजार बिगो कायम गरियो।

अन्यको हकमा पनि लाग्ने कानुन यही नै हो। तर हुन्डीको जालोबारे खुलेको महत्त्वपूर्ण अपराध नियन्त्रणमा सिआइबी र नेपाल राष्ट्र बैंक जुन रूपमा सक्रिय देखिनु पर्ने हो त्यो सक्रियता देखिएन।

हुन्डीमा सक्रिय जयसवालको बयानमा पोलिएकामध्ये आइएमइ र इसेवा मनी ट्रान्सफर सबैभन्दा बलियो र प्रभावशाली कम्पनी हुन्।

आइएमइ रेमिटको नाममा कारोबार गर्दै आएको यस कम्पनीको अध्यक्षमा हेमराज ढकाल छन्। यो २५ वर्ष अगाडि स्थापित रेमिट हो। आइएमइको आधिकारिक वेभसाइटमा राखेको विवरण अनुसार यसले  कुवेत, साउदी अरेबिया, मलेसिया लगायत १६ देशबाट नेपालमा रेमिटेन्स भित्र्याउने गरेको छ।

इसेवा मनी ट्रान्सफरको अध्यक्ष विश्वास ढकाल हुन्। यसले ६ वर्ष अगाडिबाट मात्र मनी ट्रान्सफरको अनुमति पाएको हो। यो कम्पनी एफवानसफ्टसँग आबद्ध छ।

सम्बन्धित समाचार

पुष ४, २०८२ शुक्रबार २२:२३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।