जेन-जी आन्दोलनमा सिंहदरबारबाट ‘गुड्ने कुर्ची’ र कम्प्युटर लुट्ने तीन जनाविरुद्ध मुद्दा, १० वर्ष कैद माग
काठमाडौं : गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र पसेर सरकारी कार्यालयहरूमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना युवाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पुस ३ गते हुम्ला र जाजरकोट घर भई हाल काठमाडौं बस्ने तीन जना विरुद्ध आपराधिक उपद्रव र डाँका कसुरमा थप दाबी अभियोग पत्र दायर गरेको हो।
मुद्दा चलाइएकाहरूमा हुम्लाका २१ वर्षीय बमराज कामी र २२ वर्षीय विकास विक तथा जाजरकोटका २३ वर्षीय जितेन्द्र विक रहेका छन्।
आन्दोलनका क्रममा उत्तेजित भीड सिंहदरबारको मूल गेट फोडेर भित्र प्रवेश गरेको थियो। सोही भीडमा मिसिएर यी प्रतिवादीहरूले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका भवनहरूमा ढुङ्गामुढा गर्ने, झ्याल ढोका फोड्ने, आगजनी गर्ने र सरकारी सवारी साधनहरूमा क्षति पुर्याउने कार्य गरेका थिए।
यी युवाहरूले मन्त्रालयभित्र तोडफोड मात्र गरेनन्, त्यहाँ रहेका कम्प्युटर, प्रिन्टर लगायतका महँगा उपकरणहरू समेत चोरी गरेका थिए। प्रहरी अनुसन्धानका अनुसार, उनीहरूले मन्त्रालयको ‘कालो रङको गुड्ने कुर्ची’मा ती सामानहरू राखी गुडाउँदै सिंहदरबार बाहिर निकालेर आफ्नो डेरासम्म पुर्याएका थिए।
प्रहरीले मंसिर २१ गते उनीहरू बस्ने जैसीदेवलस्थित डेरामा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा एचपी इनटेल कोर आई सेभेन भी प्रो मोनिटर, प्यान्टम एम६७०२डीडब्लु प्रिन्टर, जेडी प्रो डिजिटल वर्ल्ड किबोर्ड तथा ल्यापटप चार्जर, पावर कर्ड र अन्य केबुलहरू बरामद गरेको थियो।
घटनाको दिन सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र फोटोहरूको विश्लेषणबाट प्रहरीले उनीहरूलाई पहिचान गरेको थियो। भिडियोमा कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएका व्यक्तिहरूले सिंहदरबारभित्र तोडफोड गरिरहेको र कुर्सीमा प्रिन्टर राखी गुडाउँदै लगेको दृश्य देखिएको थियो।
पक्राउ परेका बमराज कामी र बिकास बि.क.ले बयानका क्रममा उक्त कार्य आफूहरूले नै गरेको स्वीकार गरेका छन्। उनीहरूले बयानमा ‘सरकारी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड गरी सरकारी सम्पत्ति लिएर गई कोठामा राख्नु हाम्रो गल्ती भयो’ भनेर स्वीकार गरेका छन्।
सरकारी वकिल कार्यालयले उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ (आपराधिक उपद्रव) र दफा २४४ (डाँका चोरी) अन्तर्गतको कसुरमा सजायको माग गरेको छ।
तीन वा सोभन्दा बढी व्यक्ति मिलेर चोरी गरेको हुनाले यसलाई डाँका मानिएको छ। यस कसुरमा ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोले ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।
साथै, क्षति पुर्याइएको सरकारी सम्पत्तिको बिगो भराउन र क्षतिपूर्ति दिलाउन समेत माग गरिएको छ।
यसअघि सोही घटनाको मुख्य योजनाकार वा संलग्न रहेको भन्दै ‘एलेक्स’ भन्ने कुमार पराजुली विरुद्ध मुद्दा दायर भइसकेको छ। यो अभियोग पत्र सोही मुद्दाको पूरक (थप दाबी) को रूपमा दर्ता गरिएको हो।
पुष ४, २०८२ शुक्रबार १३:३७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।