एपस्टिन सेक्स स्क्यान्डलका ६८ नयाँ तस्बिर सार्वजनिक, बिल गेट्स पनि महिलासँग देखिए
एजेन्सी : चर्चित ‘एपस्टिन सेक्स स्क्यान्डल’ सँग जोडिएका ६८ वटा नयाँ तस्बिरहरू सार्वजनिक भएका छन्।
अमेरिकी संसदको ‘हाउस ओभरसाइट कमिटी’का डेमोक्र्याट सांसदहरूले बिहीबार राति यी तस्बिरहरू सार्वजनिक गरेका हुन्।
सार्वजनिक भएका तस्बिरहरूमध्ये दुईवटामा अर्बपति बिल गेट्स महिलाहरूसँग देखिएका छन्।
तस्बिरमा देखिएका महिलाहरू को हुन् भन्ने स्पष्ट छैन, तर गेट्स सुट-बुटमा सजिएर कोठाभित्र महिलासँग उभिएको देखिन्छ। तस्बिरमा महिलाको अनुहार भने छोपिएको छ।
यसअघि डिसेम्बर १२ मा पनि १९ वटा तस्बिर सार्वजनिक गरिएका थिए, जसमा पनि बिल गेट्स देखिएका थिए।
तस्बिरमा देखिँदैमा सम्बन्धित व्यक्तिहरू कुनै गलत काम वा अपराधमा संलग्न थिए भन्ने अर्थ लाग्दैन।
यसबारे पूर्ण जानकारी ‘एपस्टिन फाइल्स’ र अन्य कागजातहरू सार्वजनिक भएपछि मात्र खुल्नेछ। अमेरिकी न्याय मन्त्रालयले छिट्टै यस काण्डसँग जोडिएका सम्पूर्ण फाइलहरू सार्वजनिक गर्ने तयारी गरेको छ।
महिलाको शरीरमा ‘लोलिता’ को सन्देश
सार्वजनिक भएका नयाँ तस्बिरहरूमा महिलाको शरीरका विभिन्न भागमा हातले लेखिएका सन्देशहरू देखिएका छन्। बीबीसीको रिपोर्ट अनुसार, यी वाक्यहरू चर्चित तर विवादित उपन्यास ‘लोलिता’बाट साभार गरिएका हुन् ।
‘लोलिता’ उपन्यासमा एक नाबालिग किशोरीको यौन शोषणको कथा समेटिएको छ। त्यसैले महिलाको शरीरमा यस किताबका वाक्यहरू लेखिनुलाई संवेदनशील रूपमा हेरिएको छ। एक तस्बिरमा महिलाको खुट्टामा ‘उनी बिहान लो थिइन्’ भन्ने वाक्य लेखिएको छ।
अनुसन्धान समितिका अनुसार जेफ्री एपस्टिनको गोप्य ठेगानाबाट अहिलेसम्म हजारौं कागजात, इमेल र ९५ हजारभन्दा बढी तस्बिरहरू बरामद भएका छन्।
यस विषयमा अमेरिकी राजनीति पनि तातिएको छ।
रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूले ट्रम्पलाई निशाना बनाउन छानिएका तस्बिर मात्र बाहिर ल्याएको आरोप लगाएका छन्। उनीहरूका अनुसार कागजातमा ट्रम्पले गलत काम गरेको कुनै प्रमाण छैन।
को हुन् जेफ्री एपस्टिन ?
जेफ्री एपस्टिन न्युयोर्कका करोडपति फाइनान्सर थिए, जसको विश्वका ठूला नेता र सेलिब्रेटीहरूसँग नजिकको सम्बन्ध थियो ।
सन् २००५ मा उनीमाथि नाबालिग किशोरीको यौन शोषण गरेको आरोप लाग्यो। सन् २००८ मा दोषी ठहर भई १३ महिना जेल सजाय भयो।
सन् २०१९ मा ‘सेक्स ट्राफिकिङ’को आरोपमा पुनः पक्राउ परे, तर मुद्दाको फैसला हुनुअघि नै उनले जेलभित्र आत्महत्या गरे।
उनका अपराधमा सघाउने उनकी पार्टनर घिस्लेन म्याक्सवेललाई सन् २०२१ मा दोषी ठहर गर्दै २० वर्षको जेल सजाय सुनाइएको छ।
पुष ४, २०८२ शुक्रबार ०८:१०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।