जेनजी प्रदर्शनका घाइतेको वर्गीकरण तीव्र, अति गम्भीर घाइतेलाई मासिक १८ हजार भत्ता

जेनजी प्रदर्शनका घाइतेको वर्गीकरण तीव्र, अति गम्भीर घाइतेलाई मासिक १८ हजार भत्ता
फाइल तस्बिर

काठमाडौं : सरकारले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ।

घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउन गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो।

मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणको काम भइरहेको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले घाइतेहरूको भावना अनुरूप वर्गीकरणको काम छिटो टुङ्गो लगाउन सम्बद्ध निकायलाई निर्देशन दिएसँगै प्रक्रियाले गति लिएको वर्गीकरण सहजीकरण समितिले बताएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले घाइतेको अवस्था हेरी सिफारिस गर्नेछन्। सोही सिफारिसका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणीकरण गर्नेछ।

कार्यविधि अनुसार घाइतेको वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक प्राविधिक समिति रहनेछ। उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार तहमा वर्गीकरण गर्ने व्यवस्था छ।

वर्गीकरण अनुसार घाइतेहरूलाई मासिक रूपमा निम्न बमोजिमको जीविकोपार्जन भत्ता उपलब्ध गराइनेछ:

अतिगम्भीर घाइते : मासिक रु. १८,०००
गम्भीर घाइते : मासिक रु. ९,०००
मध्यम घाइते : मासिक रु. ४,०००

पुष ४, २०८२ शुक्रबार ०७:१९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।