समानुपातिक उम्मेदवार छनोट रास्वपाले खटायो 'कमाण्डर', स्वतन्त्र जनप्रतिनिधि तान्न छुट्टै संयन्त्र

समानुपातिक उम्मेदवार छनोट रास्वपाले खटायो 'कमाण्डर', स्वतन्त्र जनप्रतिनिधि तान्न छुट्टै संयन्त्र

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ। पौष १ र २ गते बसेको पार्टीको सचिवालय बैठकले समानुपातिक उम्मेदवारीका लागि प्राप्त आवेदकहरूको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

समानुपातिक तर्फ मङ्सिर मसान्तसम्म कुल ३२५ वटा आवेदन प्राप्त भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। आवेदकहरूसँग छलफल गर्न बैठकले केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ। समानुपातिकमा उम्मेदवारी नदिएका केन्द्रीय सदस्यहरूलाई यो जिम्मेवारी तोकेको हो। 

छलफलको सहजीकरणको लागि कोशी प्रदेशमा विपिन कुमार आचार्य, निशा डाँगी, अशोक कुमार चौधरी र सरिन तामाङ, मधेस प्रदेशमा मनिष झा, राजन गौतम, बिन्दबासिनी कंसाकार र तपेश्वर यादव, बागमती प्रदेशमा बिराज भक्त श्रेष्ठ र डा. तोसिमा कार्की, रामकृष्ण भट्टराई र उपेन्द्र पाण्डे, गण्डकी प्रदेशमा शिशिर खनाल, असिम शाह, शिव नेपाली, मोहन थापा र राजन गौतम, लुम्बिनी प्रदेशमा गणेश पराजुली, क्रान्ति शिखा धिताल, लक्ष्मी तिवारी र देवराज पाठक, कर्णाली प्रदेशमा हरि ढकाल, विनीता कठायत र मदन खड्का, सुदूरपश्चिम प्रदेशमा दीपकराज बोहरा, ध्रुव गिरी र प्रकाश विष्टलाई जिम्मेवारी तोकेको हो। छलफल  पौष ५ गते सातै प्रदेशमा कार्यक्रम आयोजना गरिने छ।

बैठकले समानुपातिक तर्फ आवेदन दिएका सदस्यहरूले मनस्थिति परिवर्तन गरी प्रत्यक्षतर्फ आवेदन दिन चाहेमा पनि छुट दिएको छ।  त्यसको लागि पौष ५ गते साँझ ५ बजेसम्म बिना शुल्क प्रत्यक्षतर्फ आवेदन रूपान्तरण गर्न सक्ने रास्वपाले जनाएको छ। 

पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी बनाउन 'उम्मेदवार छनोट अडिट समिति'को संयोजकमा केन्द्रीय सदस्य उपेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ। साथै, समानुपातिक तर्फ आवेदन दिएका केन्द्रीय सदस्यहरू छनोट प्रक्रियामा सहभागी हुन नपाउने निर्णय समेत गरिएको छ। यसैगरी, पार्टीको स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गरिएको छ।

रास्वपाले स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गर्न तीन सदस्यीय 'स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल' गठन गरेको छ। केन्द्रीय सदस्य विष्णु कुमार श्रेष्ठको संयोजकत्वमा गठित उक्त कार्यदलको सदस्यमा केन्द्रीय संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठ र पार्टी नेत्री रन्जु दर्शन रहेका छन्। 

पुष ३, २०८२ बिहीबार १५:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।