हारपछि ईश्वर पोखरेलको वाचा : एमालेमा मेरो यात्रा अटूट रहनेछ

हारपछि ईश्वर पोखरेलको वाचा : एमालेमा मेरो यात्रा अटूट रहनेछ

काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित ईश्वर पोखरेलले आफूले उठाएका ‘सामूहिक नेतृत्व’ र ‘नियन्त्रण र सन्तुलन’का मुद्दाहरूले पार्टीभित्र निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्।

चुनावी परिणाम सार्वजनिक भए लगत्तै एक सन्देश जारी गर्दै उनले हारपछि विचलित हुनुको साटो पार्टीको अभियानमा अटुटरूपमा संलग्नता र सहभागिता रहने बताएका हुन्।

उनले आन्तरिक लोकतन्त्र र विधि-पद्धतिको सवालले बहस र छलफलको नयाँ स्तरमा निरन्तरता पाउने विश्वास व्यक्त गरे। नवनिर्वाचित अध्यक्ष र पदाधिकारीलाई बधाई दिँदै पोखरेलले आफ्नो पराजयलाई लोकतान्त्रिक अभ्यासको रूपमा ग्रहण गरेको भनेका छन्। 

महाधिवेशनका क्रममा उठाएका मुद्दाहरू आफ्नो हारसँगै नसकिएको उनको भनाई छ। जनताको बहुदलीय जनवाद (जबज) को आलोकमा पार्टी चल्नुपर्नेमा जोड दिँदै पोखरेलले भनेका छन्, 'जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी सञ्चालन , पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न  ‘नियन्त्रण र सन्तुलन’को सिद्धान्तको पालन आदि महत्त्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता  पाउने कुरामा विश्वास व्यक्त गर्दछु।'

एमालेभित्र नेतृत्वको कार्यशैली र शक्ति सन्तुलनको विषयमा आफूले उठाएका मुद्दा निर्वाचनको परिणामले नदब्ने उनको संकेत छ। एमालेको मूल प्रवाहबाट आफू बाहिर नजाने उल्लेख गर्दै उनले भनेका छन्, 'आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु।'

आफ्नो अध्यक्ष पदमा उम्मेदवारी दिँदा विश्वासको मत प्रदान गर्ने प्रतिनिधिहरूप्रति उनले आभार व्यक्त गरे। एमालेको निर्वाचित नयाँ नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् भन्दै उनले महाधिवेशनमा योगदान पुर्याउने प्रतिनिधिलाई धन्यवाद दिएका छ। 

पुष ३, २०८२ बिहीबार १५:००:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।