फोटोग्राफर राधेश्यामको हिजोका कुरा : राजा वीरेन्द्रसँग घुमेँ, रङ्गशालाको बाथरुममा ठोक्किँदा दीपेन्द्रलाई गाली गरेँ
सिरहाको औरहीमा ६० वर्षअघि जन्मिएका हुन्- फोटोग्राफर तथा निर्देशक राधेश्याम विश्वकर्मा।
मदन, मोहन, मुरली, मनोहर, राधेश्याम र घनश्याम गरी ६ दाजुभाइमध्ये उनी पाँचौं हुन्। उनीभन्दा माथि दिदी उर्मिला छिन्। उनको परिवारमा ६० वर्षअघि नै क्यामेरा चलाउने सौख थियो। बुबा नै फोटोग्राफीका सौखिन भएकाले राधेश्यामलाई यो क्षेत्रमा आउन गाह्रो भएन।
जुन समयमा नेपालीलाई क्यामेराले फोटो खिच्छ भन्ने कुरा कमै थाहा थियो, त्यतिबेला उनको घरमा तीनवटा क्यामेरा थिए। उनले पढ्दै गर्दा कलेज अगाडि नै फोटो स्टुडियो खोलेका थिए। इन्डियामा पढ्दापढ्दै काठमाडौं हानिएका उनी नेपाल टेलिभिजनमा जागिरे भए।
४३ सालतिर नेपाल टेलिभिजनमा करारमा काम थालेका उनलाई ४६ सालपछिको कांग्रेस सरकार बनेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा हटाइयो। उनले यो समयमा राजपरिवारको फोटो र भिडियो खिचेको अनुभव पनि सँगालेका छन्।
उनै विश्वकर्माले देखेका, भोगेका र अनुभव गरेका कुराहरूलाई ‘उकेरा’को नियमित स्तम्भ ‘हिजोको कुराकानी’ मा यसरी सुनाए:
तीन कक्षासम्म नेपालमा, बाँकी पढाइ इन्डियामा
मेरो जन्म २०२० सालमा सिरहा जिल्लाको औरही गाउँ पञ्चायत (हाल औरही गाउँपालिका वडा नम्बर ५) मा भएको हो। मेरो पढाइ तीन कक्षासम्म गाउँमै भयो। त्यसपछि गाउँमा माथिल्लो कक्षा थिएन। नभएपछि इन्डिया नजिकै थियो। ४ कक्षादेखि इन्डियामै पढ्न थालेँ।
बोर्डरको छेउ भएकाले २-३ घण्टा हिँडेपछि स्कुल पुगिन्थ्यो। मैले इन्डियाको एच.ई. स्कुल, महथा लदनिया भन्ने ठाउँमा पढेँ। यो स्कुलबाट मैले २०३६ सालमा एसएलसी पास गरेँ भने हाइस्कुल चाहिँ खाजेडीह कलेज, खाजेडीमा पढेँ।
त्यो समयमा नेपालमा कलेज र स्कुलहरू यति धेरै खुलेका थिएनन्। त्यसैले हाम्रोतिरका अधिकांशले इन्डियामै गएर पढ्नुपर्ने बाध्यता थियो।
गिरिजाप्रसाद कोइरालाहरूले त झन् बनारसमै गएर पढेका थिए। नेपालमा अहिलेको जस्तो प्रशस्त स्कुल खुलेका थिएनन्, खुलेका पनि अलि टाढै हुन्थे। ‘पढ्न इन्डिया जाने, अनि फर्किएर नेपालमा जागिर खाने’ चलन थियो। हामीले इन्डियामा पढेर ब्याचलर सकेपछि मात्र नेपालमा माध्यमिक तहसम्मका स्कुल बनेका थिए।
मैले इन्डियामा पढ्दा त्यहाँ लालुप्रसाद यादव मुख्यमन्त्री भएको बेला ‘शिक्षित बन’ भन्ने नारा नै थियो। स्कुलमा शिक्षा पनि ठीकठाकै थियो। पढ्नेहरू पढ्थे, नपढ्नेहरू त्यत्तिकै पास गर्ने पनि थिए। अलि खुकुलो (लुज) थियो। सबैको अभियान नै सबैजना शिक्षित होऊन् भन्ने थियो।
म सानैदेखि अलिक जिद्दी स्वभावको, अलि लडाकु खालको थिएँ। कसैको अन्याय-अत्याचार सहन नसक्ने। कसैमाथि अन्याय भयो भने म प्याच्च बोलिहाल्थेँ।
तर मेरो घरमा बुबा एकदमै नरम स्वभावको, सबैलाई समान व्यवहार गर्ने हुनुहुन्थ्यो। हामीले लडाइँ-झगडा गरेको कतिपय कुरा बुबालाई थाहा पनि हुँदैनथ्यो। बुबाले त्यति चासो नराखेर पनि होला। म स्कुलमा पढ्दा होस् या हाइस्कुलमा, लफडा चलिरहन्थ्यो।

पढाइमा म न त धेरै तेज थिएँ, न त कमजोर नै। ठीकठाकै थिएँ। स्कुलमा हुँदा मलाई सर-मिसले गाली पनि गर्नुहुन्थ्यो, माया पनि उत्तिकै गर्नुहुन्थ्यो। गीत गाउने बेलामा म गीत पनि गाइदिन्थेँ।
अहिले सम्झन्छु- सरमिसले राम्रै मान्छेलाई गाली गर्नुहुँदो रहेछ, ताकि उसले भोलिका दिनमा राम्रो गरोस्। मलाई कुनै सरसँग डर लाग्दैनथ्यो। कतिपय विद्यार्थीहरू त सर देख्दा अर्को बाटो तर्केर हिँड्छन् नि, म त्यो स्वभावको थिइनँ।
मलाई अहिले पनि सम्झना छ, स्कुल पढ्दाखेरि म नाटकमा अभिनय र निर्देशन गर्थें। त्यो मलाई हाइस्कुलकै शिक्षकले सिकाउनुभएको हो।
इन्डियामा सरस्वती पूजाको दिन नाटक आयोजना हुन्थ्यो। त्यसमा सर-मिसले मलाई सहभागी गराउनुहुन्थ्यो। त्यो बेलामा निकै चर्चित भएको नाटक ‘सुल्ताना डाकु’ लगायतमा अभिनय गरेको छु।
४०-४५ वर्षअघिको कुरा, अब त बिर्सन पनि थालिसकेँ। मलाई अझै पनि याद छ, त्यो बेलाका बी.एसी. शिक्षक हुनुहुन्थ्यो- भोला बाबु भन्ने। उहाँले गणित पढाउनुहुन्थ्यो। उहाँको अगुवाइमा म नाटक निर्देशन गर्थें। उहाँले सरसल्लाह दिनुहुन्थ्यो, सोहीअनुसार म काम गर्थें।
पिछडिएको गाउँ भएपछि स्कुल बनेनन्
मेरो गाउँ त्यो समयमा निकै पिछडिएको थियो। इन्डिया बोर्डरको छेउमा घर। तर गाउँ पिछडिएको भए तापनि त्यहाँ ठूल्ठूला जमिन्दारहरूको बसोबास थियो।
हाम्रो गाउँ ऐतिहासिक पनि हो। गाउँका मान्छेहरूले आफ्नो क्षमताअनुसार छोराछोरीलाई पढ्न बाहिर पठाउँथे। कोही लहान, कोही जनकपुर त कोही मधुवनी।
गाउँमा तीन कक्षाभन्दा माथि स्कुल नभएपछि थप पढ्नका लागि आफ्नो गाउँबाट नजिकै भारतको लदनिया जानुपर्थ्यो। सोही ठाउँमा मेरो बुबाले हामीलाई पढ्न पठाउनुभयो। हाम्रो घरबाट तीन घण्टाको बाटो थियो। बिहान उठ्यो, पढ्न गयो, फेरि उही बेलुका फर्कियो।
त्यो बेला खेलकुदमा फुटबल, डन्डीबियो जस्ता खेल हुन्थे। साथीभाइ भेला हुने र खेल्ने गरिन्थ्यो। अहिले त स्कुलबाट आयो, मोबाइल चलायो। स्कुल जाँदा पनि बसमा, आउँदा पनि बसमा। त्यतिबेला त हिँडेरै जाने, हिँडेरै आउने। समय धेरै परिवर्तन भइसकेको छ।
फोटोग्राफीमा बुबाको गुण सर्यो
मेरो बुबा फोटोग्राफीको धेरै सौखिन हुनुहुन्थ्यो। हामी साना हुँदा नै उहाँको हातमा क्यामेरा देखेका थियौँ। ६० वर्षअघि उहाँले तीनवटा क्यामेरा किन्नुभएको थियो। त्यो समयमा एउटा ‘वेट प्लेट क्यामेरा’ थियो, जसबाट तुरुन्तै फोटो खिचेर निकाल्न मिल्थ्यो।
एउटा बक्स हुन्थ्यो, त्यसमा केमिकल घोलेर राखिएको हुन्थ्यो। त्यहीँभित्र पेपर पनि। मान्छेलाई बसाएर लेन्स लगाएर खिचिन्थ्यो। अनि लेन्स खोलेर हातले घुमाएपछि ट्याप्पै लेन्स बन्द गरिन्थ्यो।
जति लाइट भयो, त्यति राम्रो फोटो बन्थ्यो। अर्को, बुबाले कोड्याक क्यामेरा किन्नुभएको थियो। यो क्यामेरा अझै पनि मेरो घरमा होला। यो चलाउन अलि सहज थियो।
बुबापछि मेरो मोहन दाइले पनि क्यामेरा चलाउन थाल्नुभयो। उहाँले पटना युनिभर्सिटीबाट फाइन आर्टमा मास्टर्स डिग्री गर्नुभएको हो, उहाँ गोल्ड मेडलिस्ट हुनुहुन्थ्यो। उहाँ पनि फोटोग्राफी र पेन्टिङमा खुबै सौखिन हुनुहुन्थ्यो। काठमाडौंको बागबजारमा ‘मोहन आर्ट’ समेत खोल्नुभएको थियो। अहिले त उहाँ हुनुहुन्न, तर फोटोग्राफीको मेरो खास गुरु उहाँ नै हो।
दाजुले दिएको आधारभूत ज्ञानकै भरमा मैले आफू पढ्ने कलेजको गेटैछेउमा स्टुडियो खोलेँ- इन्डियामा। मलाई दाइले २०३४-३५ सालतिर मुम्बईबाट क्यामेरा ल्याइदिनुभएको थियो।

त्यो ‘डिमार्क’ नाम गरेको क्यामेरा थियो सायद। त्यसले पास फोटोहरू खिच्ने काम गर्थ्यो। त्यही क्यामेरा लिएर मैले फोटोग्राफी थालेँ। क्याम्पसको गेट अगाडि नै फोटो स्टुडियो खोलेपछि २ वर्ष त कलेज नै गइनँ। यसैमा खटिएँ।
कलेजका विद्यार्थीहरू त आउने नै भए, बाहिरबाट पनि फोटो खिचाउन आउँथे। त्यस्तो भीड लाग्थ्यो। आम्दानी राम्रै थियो। पछि फेरि भर्ना भएर ब्याचलर सकाएँ। अनि स्टुडियो असिस्टेन्ट भाइलाई जिम्मा लगाएर म काठमाडौं आएँ।
मैले उसलाई भनेँ- ‘म आउँजेल यी सामानहरू सुरक्षित चाहिन्छ।’ त्यसपछि म काठमाडौं आएँ। काठमाडौं आएपछि मैले नेपाल टेलिभिजनमा काम गर्ने मौका पाएँ। यो वि.सं. २०४३ सालको कुरा हो। त्यसपछि म काठमाडौंमै छु।
दाजुको सिफारिस, एनटिभीमा नीर शाहले राखे
नेपाल टेलिभिजनमा प्रवेश गराउनुमा दाजु मुरलीधरको ठूलो हात छ। म काठमाडौं आएपछि मुरलीधर दाजुलाई भनेँ- ‘तपाईंको नीर शाहसँग भेटघाट भइरहन्छ। हजुरले कुरा गरिदिनु न, म जागिर खान्छु।’ यो ४३ सालतिरको कुरा हो। नीर शाह एनटिभीमा महाप्रबन्धक (जीएम) तथा अध्यक्ष हुनुहुन्थ्यो
सायद त्यो बेला ‘सपना’ फिल्मको सुटिङ भइरहेको थियो। नीर शाह र मुरलीधर दाजु सँगसँगै काम गर्नुहुन्थ्यो। दाजुले ‘मेरो भाइ फोटोग्राफीमा सौखिन छ, नेपाल टेलिभिजनमा ठाउँ छ भने लगाइदिनुपर्यो’ भनेर कुरा गर्नुभएछ। नीर शाहले ‘ठीक छ, पठाइदिनू’ भन्नुभएछ।
म उहाँलाई भेट्न उहाँकै घरमा गएँ। उहाँले पछि टेलिभिजनमै बोलाउनुभयो। सिंहदरबारमा सबैभन्दा पश्चिम साइडमा अग्लो भवनमा अफिस थियो। त्यहाँ गएँ। सीधै जागिर पाइन्छ होला भनेको त ‘ट्रेनिङमा जाऊ’ भनेर पठाइदिनुभयो।
उहाँले मलाई सोध्नुभयो, ‘भिडियोग्राफी आउँछ?’ मैले ‘आउँदैन’ भनेँ। त्यसपछि मलाई भिडियोग्राफीका लागि एक महिना ट्रेनिङमा हालिदिनुभयो। त्यो समयमा ट्रेनिङ गर्दा पनि तलब आउँथ्यो।
फोटो स्टुडियोबाट दैनिक रूपमा एक-डेढ सय भारु कमाउँथेँ। त्यहाँको तुलनामा एनटिभीको तलब निकै न्यून थियो। भए पनि त्यो बेलाको पैसा निकै राम्रो मानिन्थ्यो।
स्कुल पढ्न जाँदा टिफिन बोक्ने चलन थिएन। बिहान दाल-भात खाएर कुद्ने, बेलुका आएर खाने। ‘खाजा खाने, गाडी चढ्ने’ भन्ने त जमानै थिएन। त्यो समयमा बजारमा केही किनेर खानुपर्यो भने चार आना (२५ पैसा) मा मज्जाले नास्ता खान पुग्थ्यो। जेरी, मिठाई, भुजा, पुरी जस्ता नास्ता पाइन्थे। त्यो पनि हाटबजार लागेको बेलामा मात्र।
मैले जातीय विभेदको महसुस नै गर्न पाइनँ
जातीय विभेद त्यो जमानामा पनि थियो। अहिले कम भएको जस्तो लागे पनि निर्मूल भएको छैन। तर हामी जुन समुदाय र गाउँमा हुर्कियौँ, त्यहाँ हामीलाई कहिल्यै पनि ‘यो विश्वकर्मा, यो सानो जात हो’ भनेर विभेद गरिएन।
मलाई त जात भनेको पनि थाहा थिएन। यही काठमाडौं आएपछि थाहा पाएँ कि, हामी त सानो जातको मान्छे हौँ। हाम्रो गाउँ त्यो समयमा धेरै चेतनशील थियो।
हामी त्यो जमानामा फुल पेन्ट र जुत्ता लगाउँथ्यौँ। हाफ पेन्ट त कसैले पनि लगाएको देखिँदैनथ्यो। दाजुहरूले ६० वर्षपहिले नै हाइस्कुल पास गरेका थिए। हामीलाई राजपुत (इन्डियाका क्षेत्रीहरू) को खान्दानको भन्थे।

काठमाडौं आएपछि मात्रै मैले आफूलाई सानो जातको भनी थाहा पाएँ। तर यहाँ पनि मैले विभेद त भोगेको छैन। साथीहरूसँग मिलेर नै बसेको छु, सँगै खाएको छु, सुतेको छु। टेलिभिजनमा काम गर्दाखेरि पनि सिनियर दाइहरूले कहिल्यै नराम्रो व्यवहार गर्नुभएन।
मैले त्यो समयमा फिल्म पनि खिचेँ। नेपाली फिल्म ‘जो आज्ञा जिन्दगीको’ र अरु थुप्रै भिडियो फिल्महरू खिचेको छु। निर्देशकका रूपमा पनि काम गरेँ। त्यतिबेला भोजपुरी र मैथिली भाषाका सिरियलहरू बनाएँ। वि.सं. २०४८ सालतिर मैथिली भाषाको ‘चमेली’ नामक सिरियल नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो।
कांग्रेस सरकारले एनटिभीबाट ३६ जना निकाल्दा म पनि परेँ
२०४६ सालको परिवर्तनपछि २०४७ सालमा नेपाली कांग्रेसको सरकार बन्यो। कांग्रेस सरकारले करारमा रहेका सबैलाई नेपाल टेलिभिजनबाट निकाल्यो। हामी स्थायी हुन नपाउँदै निकालियौँ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनमा नेपाल टेलिभिजन संस्थानबाट ३६ जना करारका कर्मचारी निकालिएका थियौँ। हामीसँगै टेलिभिजनका जीएम नीर शाह पनि बाहिरिनुभयो। प्रशासन, प्राविधिकलगायत विभिन्न विभागबाट कर्मचारी निकालिएको थियो।
निकालिएकाहरू कोही-कोही त फेरि फर्किएर काम गर्न गए, तर म गइनँ। मैले स्वतन्त्र रूपमा काम गरेँ। नीर शाहपछि आएका जीएमले पनि ‘आउनुहोस्, काम गर्नुहोस्’ भनेर आग्रह गर्नुभएको थियो। तर मलाई मन लागेन। मैले भनेँ- ‘जबसम्म तपाईं बस्नुहुन्छ, म काम गर्छु। तपाईं हटेपछि म पनि हट्ने नै हो। त्यो मजा आउँदैन सर।’
राजा वीरेन्द्रसँग घुमेको छु, बाथरुममा ठोक्किँदा दीपेन्द्रलाई गाली गरेँ
मैले तत्कालीन राजा वीरेन्द्र शाहसँग घुमेको छु। उहाँहरू जहाँ-जहाँ कार्यक्रममा जानुहुन्थ्यो, त्यो समयमा हामी पनि जानुपर्थ्यो। मरिचमान सिंह, गिरिजाबाबु, कृष्णप्रसाद भट्टराईको पनि फोटो-भिडियो खिच्न जान्थेँ।
राजा वीरेन्द्रको बोली धेरै नरम थियो। उहाँ धेरै सोच्ने र सबैसँग समान व्यवहार गर्ने स्वभावको हुनुहुन्थ्यो। उहाँमा मैले घमण्डपन कहिल्यै देखिनँ।
कार्यक्रममा जाँदा कतिपटक राजासँग मेरो कुम जुधेको छ, तर उहाँ कहिल्यै रिसाउनुभएन। उहाँको अर्को खुबी- को कति काम गरिरहेको छ भन्ने कुरा नजानिँदो तरिकाले नियाल्नुहुन्थ्यो।
युवराज दीपेन्द्र पनि त्यस्तै स्वभावको लाग्थ्यो। २०४६ सालतिरको कुरा हो, दशरथ रंगशालामा सार्क फुटबल चलिरहेको थियो। त्यतिबेला उहाँ र मेरो ट्वाइलेटमा जम्काभेट भयो।

म पस्दै गर्दा उहाँ हतारमा बाहिरिँदै हुनुहुन्थ्यो। ठ्याक्कै कुम ठोक्कियो। मैले उहाँ दीपेन्द्र हो भनेर चिनिनँ र रिसले ‘कस्तो मान्छे रैछ!’ भनेँ।
दीपेन्द्र पनि फर्केर मतिरै हेरेर मुसुक्क हाँस्दै जानुभयो। युवराज भनेर चिनेपछि त मेरो जिउ नै सिरिङ्ग भयो। ठोक्किएपछि ‘सरी’ भन्नुपर्थ्यो, तर त्यो हतारमा दुवैतर्फबाट भएन। हामीबीच चिनजान भए पनि त्यस क्षण मैले भेउ पाइनँ।
राजा ज्ञानेन्द्रको पालामा भने मैले त्यो मौका पाइनँ। म आफ्नै काम थालिसकेको थिएँ, जागिरमा पनि थिइनँ।
पुष ३, २०८२ बिहीबार १४:१०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।