एपस्टाइन यौन काण्ड भोलि सार्वजनिक हुँदै, संसद्को दुई तिहाइले पास गरेपछि ट्रम्पले गरे आफ्नै पोल खुल्ने फाइलमा हस्ताक्षर
एजेन्सी : अमेरिकाको ट्रम्प प्रशासनले कुख्यात यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित दशकौं पुराना गोप्य सरकारी फाइलहरू डिसेम्बर १९ मा सार्वजनिक गर्ने भएको छ।
यो कदमले अमेरिका मात्र नभएर विश्वकै राजनीति र व्यापारिक क्षेत्रमा ठूलो भूकम्प जाने अनुमान गरिएको छ।
सार्वजनिक हुन लागेका फाइलहरूमा एपस्टीनको यौन शोषण सञ्जालसँग जोडिएका इमेल, तस्वीर र महत्त्वपूर्ण सरकारी कागजातहरू समावेश छन्। अमेरिकी सरकारका अनुसार यी दस्तावेजले एपस्टीनको ‘नेटवर्क’ को वास्तविकता उजागर गर्नेछ।

एपस्टीनमाथि नाबालिग बालिकाको यौन शोषण र तस्करीको गम्भीर आरोप थियो, जसमा विश्वका शक्तिशाली व्यक्तिहरूको संलग्नता रहेको आशंका गरिँदै आएको छ।
डिसेम्बर १२ मा मात्रै एपस्टीनसँग सम्बन्धित १९ वटा तस्वीर सार्वजनिक गरिएको थियो।

जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन, अर्बपति बिल गेट्स, बेलायती राजकुमार एन्ड्र्यु, र उद्योगपति रिचर्ड ब्रान्सन जस्ता प्रभावशाली व्यक्तिहरू देखिएका थिए। यी तस्वीरले कसैलाई अपराधी नै करार नगरे पनि उनीहरूको एपस्टीनसँगको निकटताले विवाद सिर्जना गरेको छ।
गत महिना अमेरिकी संसदका दुवै सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेट)ले एपस्टीनसँग सम्बन्धित कागजात सार्वजनिक गर्ने विधेयक भारी बहुमतले पारित गरेका थिए।

संसदको दुई तिहाइ बहुमतले पारित गरेको निर्णय उल्ट्याउन नसकिने भएपछि नोभेम्बर १९ मा राष्ट्रपति ट्रम्पले उक्त विधेयकमा हस्ताक्षर गर्न बाध्य भएका थिए। कानुनतः न्याय विभागले ३० दिनभित्र (डिसेम्बर १८ सम्म) फाइल सार्वजनिक गर्नुपर्नेछ।
सन् २०१९ मा जेलभित्रै एपस्टीनको रहस्यमय मृत्यु भएको थियो। आधिकारिक रूपमा यसलाई आत्महत्या भनिए पनि सीसीटीभी बन्द हुनु र घाँटीको हड्डी भाँचिनु जस्ता कारणले यसलाई हत्याको रूपमा पनि हेरिन्छ।

यसैबीच, भारतीय नेता सुब्रमण्यम स्वामीले एपस्टीनको सूचीमा केही भारतीय मन्त्री र सांसदहरूको नाम पनि हुन सक्ने दाबी गरेका छन्। यद्यपि, अमेरिकी न्याय विभागले यसबारे आधिकारिक रूपमा केही बताएको छैन।
अबको दुई दिनभित्र सार्वजनिक हुने हजारौं पृष्ठका यी दस्तावेजले विश्वका कुन–कुन 'ठूला मान्छे' को मुकुन्डो उतार्ने हो, त्यो भने प्रतिक्षाको विषय बनेको छ।
पुष ३, २०८२ बिहीबार ०८:०६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।