प्रदूषणका कारण भारत र दक्षिण अफ्रिकाबीचको चौथो टी-२० खेल रद्द

प्रदूषणका कारण भारत र दक्षिण अफ्रिकाबीचको चौथो टी-२० खेल रद्द

एजेन्सी : भारत र दक्षिण अफ्रिकाबीचको पाँच खेलको टी-२० शृंखला अन्तर्गत लखनउमा हुने तय भएको चौथो खेल रद्द भएको छ।

बुधबार साँझ लखनउमा प्रदूषणका कारण बाक्लो हुस्सु र धुवाँ हुँदा खेल एक बल पनि नफ्याँकी रद्द भएको छ।

खेलको टस साँझ ६:३० बजे हुने तालिका थियो। तर, मौसम प्रतिकूल भएपछि टस समेत हुन सकेन।

अम्पायर रोहन पण्डित र केएन अनन्थपद्मनाभनले पटक-पटक मैदानको निरीक्षण गरे। साँझ ६:५०, ७:३०, ८:००, ८:३० र ९:०० बजे गरी पाँच पटकसम्म मैदानको निरीक्षण गरियो।

अन्तिम पटक राति ९:२५ बजे गरिएको निरीक्षणपछि पनि ‘भिजिविलिटी’मा सुधार नआएपछि म्याच रेफ्री र अम्पायरहरूले खेल रद्द गर्ने निर्णय लिएका हुन्।

लखनउको वायु गुणस्तर सूचकांक (एक्युआई) निकै खराब स्थिति ४०० को हाराहारीमा रहेको थियो। मैदानमा भारतीय अलराउन्डर हार्दिक पाण्ड्या मास्क लगाएर उपस्थित भएका थिए।

यो खेल रद्द भएसँगै ५ खेलको शृंखलामा भारतले २-१ को अग्रता कायमै राखेको छ। चौथो खेल रद्द भएपछि अब भारतले शृंखला गुमाउने खतरा टरेको छ।

अब शृंखलाको पाँचौं तथा अन्तिम खेल अहमदाबादमा हुनेछ। अन्तिम खेलमा भारत विजयी भए शृंखला जित्नेछ भने दक्षिण अफ्रिकाले जितेमा शृंखला २-२ को बराबरीमा सकिनेछ।

हिजोको खेल दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डि ककका लागि विशेष थियो। उनी आफ्नो १००औं टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै थिए र उनको जन्मदिन समेत थियो।

तर, खराब मौसमका कारण खेल हुन नसक्दा उनको यो कोसेढुङ्गा खेल मैदानमा उत्रिन नपाइ टुंगिएको छ।

पुष ३, २०८२ बिहीबार ०७:२६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।