एमालेको डिजिटल मतदान ढ्वाङभन्दा ढिला, बुधवार रातभर लाग्ने
काठमाडौं : ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्न एमालेले डिजिटल मतदान प्रणाली अपनाए पनि मतदानको गति भने ढ्वाङको भन्दा पनि ढिला भएको छ। बुधवार बिहान ९ बजेबाट सुरु भएको मतदानको प्रक्रिया रातभर जारी रहने देखिएको छ।
मतदान केन्द्रमा ८० वटा मेसिन राखेर भइरहेको मतदान प्रक्रिया निकै झन्झटिलो भएको प्रतिनिधिहरूले गुनासो गरेका छन्। मतदान गर्दा पटक पटक थिच्नु पर्ने र धेरै पटक रद्द हुने गरेको एक प्रतिनिधिले बताए। २ हजार २ सय २३ मतदातामध्ये मतदान सुरु भएको नौ घण्टामा आधाआधीले मात्र मतदान गर्न सकेका छन्।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार, मतदान रातभर चल्ने र अहिलेसम्म मतदानमा प्रयोग भएका कुनै पनि उपकरणमा समस्या नआएको दाबी गरे। तर मतदानकोक्रममा प्रतिनिधीहरुलाई भने निकै असहज भएको उनले स्वीकार गरे।
मंगलबार बेलुका सात बजेबाट मतदान सुरु हुने बताइए पनि प्राविधिक समस्या आएको र चिसो बढेको भन्दै मतदानको समय बुधवार बिहान नौ बजे सारिएको थियो। तर बुधवार पनि मतदान प्रक्रिया चिसो मौसममै चल्ने भएको छ। निर्वाचन समितिका अधिकारीहरू प्रतिनिधिहरूमा प्राविधिक ज्ञानको कमीसँगै उम्मेदवारको प्यानल अनुसारको चिट हेर्दै मत हाल्दा सोचे भन्दा बढी समय लागेको दाबी गर्छन्।
प्रारम्भमा निर्वाचन समितिले मतदान केन्द्रमा मोबाइल अनि प्यानलको लिस्ट दुवै लैजान रोकेको थियो। तर पछि एकाएक मोबाइल रोक्ने तर प्यानल अनुसारको लिस्ट भने बोक्न पाउने निर्णय गरेको थियो। प्रारम्भमा समितिका अधिकारीहरूले प्रविधिप्रति अभ्यस्तलाई बढीमा २५ मिनेट र अभ्यस्त नभएकाहरूको हकमा ४० मिनेटसम्म लाग्ने आंकलन गरेको थियो। तर मतदानको प्रारम्भ गर्दै अध्यक्षका प्रत्याशी केपी ओली र ईश्वर पोखरेलले मत हाल्न नै ४० मिनेट लागेको थियो।
पुष २, २०८२ बुधबार १८:४९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।