सीआईबीले देखाएको बज्राचार्यको 'घुसको घर' मा सरकारी वकिल प्रमुखको जवाफ “आन्तरिक कुरा भन्न आवश्यक छैन”

सीआईबीले देखाएको बज्राचार्यको 'घुसको घर' मा सरकारी वकिल प्रमुखको जवाफ “आन्तरिक कुरा भन्न आवश्यक छैन”

काठमाडौँ : दरबारमार्गस्थित नेपाल ट्रस्टको १ रोपनी १४ आना जग्गा भाडामा दिँदा भएको अनियमितताबारे अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा प्रस्तावित राय पठाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यकी श्रीमतीको नाममा 'घुस' बापत घर आएको प्रसङ्ग समेत उल्लेख गर्यो।

यती एयर प्रालिको नाममा बालकोटमा रहेको घर-जग्गा बज्राचार्यकी श्रीमती रश्मि शाक्यको नाममा ९६ लाख रुपैयाँ मूल्याङ्कन गरेर पास भएको तर, सो खरिदमा कुनै आर्थिक कारोबार नदेखिएको भन्दै सीआईबीले उक्त घर नेपाल ट्रस्टको जग्गा भाडाको बदमासीको घुसबापत आर्जन गरिएको निष्कर्ष निकालेको थियो। सीआईबीले यसबारे थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउन सरकारी वकिलको कार्यालयलाई प्रस्ताव गरेको थियो।

बुधवार जिल्ला सरकारी वकिल कार्यालयले जग्गा भाडा प्रक्रियामा ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँ अनियमितता भएको दाबीसहित जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्यो। अभियोग पत्रमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई ठगीमा प्रतिवादी बनायो।

तर ठगीको अभियोग पत्रमा 'घुसको घर' बारे केही उल्लेख छैन। सरकारी वकिलको कार्यालयले घुसमा पाएको उक्त घरबारे के निर्णय गर्यो? उकेराले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेसँग जिज्ञासा राखेको थियो।

प्रारम्भमा काफ्लेले सीआईबीले पठाएको राय सुझावमा राजेश बज्राचार्य र रश्मि शाक्यमाथि भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्न अख्तियारमा लेखी पठाउने सिआइबीको सुझावबारे आफूलाई जानकारी नै नभएको जवाफ दिए। त्यसपछि उनीसँग उकेराकर्मीको प्रतिप्रश्न सुरु भयो :

उकेरा: सीआईबीले पठाएको प्रस्तावित रायमा प्रस्ट उल्लेख भएको विषय थाहा छैन भनेर किन झुट बोल्नुहुन्छअख्तियारमा पठाउने निर्णय भयो या भएनजानकारी दिनुस् न।

काफ्ले: यो दुई कार्यालय (सरकारी वकिल र अख्तियार) बिचको आन्तरिक विषय हो। यसबारे अभियोग पत्रमा उल्लेख गर्न आवश्यक थिएनसार्वजनिक जानकारी दिन पनि जरुरी छैन।

उकेरा: पहिला त थाहै छैन भनेर ढाँट्नुभयो। निर्णय के भयो भन्नेबारे जानकारी दिन के समस्या छ?

काफ्ले: यो अनुसन्धानमा रहेको विषय हो। अनुसन्धानमा रहेको विषय भनिरहन आवश्यक छैन।

उकेरा: अख्तियारमा पठाउने निर्णय भयो कि भएन भन्ने मात्र त भन्न मिल्छ नि?

काफ्ले: यो दुई कार्यालयबीचको विषय हो। यसबारे भन्न आवश्यक छैन।

उकेरा: घर घुस लिएकोबारे सीआईबीले पर्याप्त प्रमाणसहित सिफारिस गरेको विषयमा जानकारी दिन किन समस्या?

काफ्ले: जे सार्वजनिक गर्नुपर्ने होत्यो अभियोग पत्रमा उल्लेख गरिएकै छ। थप आन्तरिक विषय सार्वजनिक गर्न जरुरी छैन।

घुसको घरको पृष्ठभूमि : यती समूहसँगको शंकास्पद लेनदेन

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा यती समूहको कम्पनीलाई सुम्पने प्रक्रिया सकिएको केही वर्षपछि यतीकै लगानी रहेको तारा एयरको नाममा रोज भिलेज हाउजिङमा रहेको घर बज्राचार्यको श्रीमतीको नाममा पास भएको देखिएपछि सिआइबीले घुसको घर भएको शंकामा अनुसन्धान गर्यो।

सीआईबीको अनुसन्धानमा बालकोटस्थित 'रोज भिलेज हाउजिङ' मा रहेको उक्त घरको ९६ लाख मुल्यांकन गरेर मालपोत कार्यालय भक्तपुरबाट पास भएको तर सो घर खरिद विक्री वापत राजेश वा उनको श्रीमती र तारा एयरबीच रकम लेनदेन नभएको देखिएपछि सो घर नेपाल ट्रस्टको जग्गा भाडामा दिने निर्णय गराउँदा कम्पनीलाई अधिक लाभ दिलाए वापतको घुस भएको निष्कर्ष निकाल्यो।

नेपाल ट्रस्टको जग्गा बदनियतपूर्ण तरिकाले यती समूहलाई दिलाउन बिचौलियाको भूमिका खेलेबापत शाक्यलाई घर उपहार दिइएको भन्दै सीआईबीले भ्रष्टाचारको अनुसन्धान आफ्नो कार्यक्षेत्र नभएकाले सरकारी ओहदामा रहँदा बज्राचार्यले गरेको अनियमितताबारे भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउन राय दिएको थियो।

सम्बन्धित समाचार

पुष २, २०८२ बुधबार १८:०७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।